काठमाडौं – नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म आफ्नो १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ। सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको कार्यतालिका पनि सर्वसम्मत पारित गरेको छ।बैठकले वर्तमान कार्यसमितिको कार्यकाल माघसम्मका लागि थप गर्ने निर्णय पनि गरेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठकमा कार्यतालिका पेश गर्दै बताए कि कांग्रेसले पुस १६ गते वडा अधिवेशन गर्नेछ।



उनका अनुसार गाउँ–नगर अधिवेशन पुस १७ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते सञ्चालन हुनेछन्। एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा पुस २१ गते र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा पुस २२ गते जिल्ला अधिवेशन हुनेछ।यसैगरी, कांग्रेसको प्रदेश अधिवेशन पुस २२ र २३ गते सञ्चालन हुने कार्यवाहक सभापति खड्काले बैठकमा जानकारी दिएका छन्।



