नेपाली कांग्रेसले आगामी निर्वाचनमा सहभागी हुने मनस्थिति बनाएको छ । केन्द्रीय कार्य समिति बैठकको पूर्वसन्ध्यामा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा सहभागिता जनाउने निश्कर्ष निकालेको हो । यद्यपि निर्वाचनमा जाने–नजाने विषयबारे आधिकारिक निर्णय भने केन्द्रीय कार्य समिति बैठकले गर्नेछ । यस्तै कांग्रेसका अधिकतर नेता पार्टीको महाधिवेशनको पक्षमा उभिएका छन् ।



नेकपा एमाले प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालतको ढोका ढकढकाउने तयारीमा जुट्दा बिगतको सत्ता साझेदार दल नेपाली कांग्रेसले भने निर्वाचनमा जाने मनस्थिति बनाएको छ । तीन दिनसम्म चलेको पदाधिकारी तथा पूर्वपदाधिकारी र अरु शीर्ष नेताहरु सम्मिलित केन्द्रीय कार्य सम्पादन समिमि बैठकमा बोल्ने अधिकांश नेता निर्वाचनमा जानुपर्ने विषमया सकारात्मक देखिएका छन् । केही दिनअघिसम्म कांग्रेसका केही नेता वर्तमान सरकारले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै पुनर्स्थापनाको मुद्दा लिएर सर्वोच्च अदालत जानुपर्ने पक्षमा सार्वजनिक रुपमै बोलेका थिए । तर कार्य सम्पादन समिति बैठकमा सहभागी नेताहरु अदालती विषय निश्चित नभएकाले तोकिएको समयमा निर्वाचनका लागि आफूहरु तयार हुनुपर्ने विषयमा एकमत देखिएका छन् ।
लोकतान्त्रिक पार्टी भएकाले निर्वाचनमा जानै पर्ने धारणा नेताहरुको छ । यद्यपि कांग्रेसले निर्वाचनमा जाने वा के गर्ने भन्ने विषयमा केन्द्रीय कार्य समिति बैठकबाट अन्तिम निर्णय गर्नेछ । पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा मुख्य बहसको विषय बनेको महाधिवेशनको मितिबारे भने अहिलेसम्म साझा धारणा बनेको छैन । कांग्रेसमा लामो समयदेखि पुस्तान्तरणको बहस चलाइरहेका महामन्त्री गगन थापा, अर्का महामन्त्री विश्वप्रकाश शर्मा लगायतका नेताहरुले जेनजी आन्दोलनलगत्तै पार्टीमा विशेष महाधिवेशनको अभियान सुरु गरेका थिए । तर पदाधिकारी बैठकमा महामन्त्री थापाले मंसिरमा नियमित महाधिवेशन नै गर्ने प्रस्ताव अघि सार्नुभयो । कांग्रेसको विधानअनुसार यो वर्ष महाधिवेशनको वर्ष पनि हो । विषेश परिस्थितिमा १ वर्ष म्याद थप्नुपर्ने व्यवस्थाको फाइदा उठाउने बाहेक कांग्रेसले आगामी मंसिर–पुसमा नियमित महाधिवेशन गर्नुपर्ने तालिका नै छ । महाधिवेशनका विषयमा संस्थापन पक्ष सकारात्मक बनिसकेका छैनन् । तर सबैतिर पार्टी पुनर्गठनको चर्चा सुरु भएको अवस्थामा अब नियमित महाधिवेशन गर्ने र त्यसका लागि क्रियाशील सदस्यता छिटो टुंगोमा पुर्याउनेबारे केही छलफलहरु भएका छन् । देउवा पक्षकै नेता कोइराला पनि नियमित महाधिवेशन गर्नुपर्ने मनिस्थितिमा देखिनुएको छ ।
तर इतर नेता शेखर कोइराला भने दोधारे देखिएको बैठकमा सहभागीहरु बताउँछन् । उहाँले महाधिवेशन वा विशेष जे भए पनि ठिकै भन्ने खालले आफ्नो धारणा राख्नुभएको छ । यस्तै निर्वाचनमा जाने विषयमा समेत उहाँले अरु दलहरुको धारण स्पष्ट भइसकेपछि मात्रै कांग्रेसले आफ्नो निर्णय लिनुपर्ने खालको भनाइ राखेको बैठककमा सहभागीहरु बताउँछन् ।



