काठमाडौं । नेपाली किकबक्सिङ खेलाडी अविरल घिमिरेले अन्तर्राष्ट्रिय स्तरमा ठूलो सफलता हासिल गर्दै नेपाललाई विश्वभर चिनाउन सफल भएका छन् । ‘हिमालय चितुवा’ नामले परिचित उनले जापानमा आयोजित प्रतिष्ठित K–1 Krush १८८ किकबक्सिङ प्रतियोगिताको उपाधि जित्दै नयाँ इतिहास रचेका छन् ।

शनिबार टोकियोमा सम्पन्न उक्त प्रतिस्पर्धामा अविरलले घरेलु खेलाडी रिकुलाई शानदार प्रदर्शन गर्दै नकआउटमार्फत पराजित गरे । खेलको तेस्रो राउण्डको दोस्रो मिनेटमै उनले निर्णायक प्रहार गर्दै जित आफ्नो पक्षमा पारेका थिए । यससँगै उनले आफ्नो उपाधि सफलतापूर्वक रक्षा गर्दै लगातार दोस्रो पटक यो प्रतिष्ठित टाइटल जित्ने पहिलो नेपाली खेलाडी बनेका छन् । K–1 Krush लाई विश्वकै उच्च स्तरको किकबक्सिङ प्रतियोगितामध्ये एक मानिन्छ । यस्तो प्रतियोगितामा नेपाली खेलाडीले बारम्बार सफलता हासिल गर्नु आफैंमा गर्वको विषय हो । अविरलको यो उपलब्धिले नेपाली खेलकुदको स्तरलाई अन्तर्राष्ट्रिय क्षेत्रमा अझ उचो बनाएको छ ।

हाल अविरल जापानकै प्रतिष्ठित क्लबमार्फत प्रशिक्षण र प्रतिस्पर्धा गर्दै आएका छन् । उनले आफ्नो करियरमा अहिलेसम्म २५ वटा अन्तर्राष्ट्रिय खेल खेलेका छन्, जसमा १९ जित हात पार्दा १८ खेल नकआउटमार्फत जितेका छन् । यस्तो प्रभावशाली प्रदर्शन गर्ने उनी नेपालका पहिलो खेलाडी बनेका छन् ।

उनले K–1 Krush बाहेक अन्तर्राष्ट्रिय किकबक्सिङका अन्य महत्वपूर्ण उपाधिहरू पनि जितिसकेका छन् । लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका अविरल आज नेपाली युवा खेलाडीहरूका लागि प्रेरणाको स्रोत बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय