काठमाडौं । जापानको आइची नागोयामा आयोजना हुने २०औँ एसियन गेम्स २०२६ लाई लक्षित गर्दै नेपाली राष्ट्रिय बक्सिङ टोलीले भारतको गुवाहाटीमा विशेष प्रशिक्षण गरिरहेको छ ।

एसियन गेम्समा उत्कृष्ट प्रदर्शन गर्दै देशका लागि पदक जित्ने लक्ष्यसहित नेपाली बक्सरहरू कडा अभ्यासमा जुटेका छन् । प्रशिक्षणमा पुरुषतर्फ चन्द्रबहादुर थापा (५५ केजी), खगेन्द्र रोका मगर (६० केजी), दानबहादुर दरलामी (७० केजी) र रबिन नेपाल (९० केजी) सहभागी छन् । महिलातर्फ रमिशा श्रेष्ठ (५१ केजी), अस्मिता दुवाल (५४ केजी) र कुसुम तामाङ (६५ केजी) ले प्रशिक्षण लिइरहेका छन् ।

टोलीलाई राज श्रेष्ठ र दीपक महर्जनले प्रशिक्षण दिइरहेका छन् । एसियन गेम्समा पदक जितिसकेका दीपक महर्जन नेपाली बक्सिङका लागि अनुभवी प्रशिक्षकका रूपमा टोलीको तयारीमा महत्वपूर्ण भूमिकामा छन् ।

दीपक महर्जन स्वयंले सन् २०१० मा चीनको ग्वाङ्झाउमा भएको १६औँ एसियन गेम्समा पुरुष ८१ केजी तौल समूहबाट कांस्य पदक जितेका थिए । उक्त पदक नेपालका लागि सो एसियन गेम्सको एकमात्र पदक थियो ।

त्यसयता एसियन गेम्सको बक्सिङमा नेपालले अर्को पदक जित्न सकेको छैन । त्यसैले यसपटक प्रशिक्षकका रूपमा दीपक महर्जनकै नेतृत्वमा नेपाली बक्सिङ टोलीले लामो पदक खडेरी तोड्ने ठूलो आशा बोकेको छ ।

भारतको गुवाहाटीमा भइरहेको प्रशिक्षणलाई यही लक्ष्यतर्फको महत्वपूर्ण तयारीका रूपमा लिइएको छ । उच्चस्तरीय प्रशिक्षण, अभ्यास र खेलाडीहरूको प्राविधिक तथा शारीरिक क्षमतामा सुधार गर्दै नेपाली टोली जापानमा हुने एसियन गेम्सका लागि आफूलाई तयार पारिरहेको छ ।

२०१० मा खेलाडीका रूपमा एसियन गेम्समा पदक जितेका दीपक महर्जन अहिले प्रशिक्षकका रूपमा नेपाली टोलीलाई पदकतर्फ डोहो¥याउँदैछन् । अब १६ वर्षपछि नेपाली बक्सिङमा फेरि एसियन गेम्सको पदक फर्काउने आशा गुवाहाटीको प्रशिक्षणबाट पलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय