काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आयोजनामा ‘एकीकृत नेपाली घरः बहु सांस्कृतिक केन्द्र’ निर्माणका लागि ‘टोकियो सप्ताह’ महायज्ञ सुरु भएको छ । एनआरएनए जापान र जापानमा रहेका विभिन्न संघसंस्थाको सहकार्यमा टोकियो सप्ताह महायज्ञ सुरु भएको हो । टोकियोस्थित शिन्ज्युकुमा सुरु भएको उक्त सप्ताहव्यापी महायज्ञमा कथा वाचन पण्डित दिनबन्धु पोखरेल र बौद्धगुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछेले गर्नुभएको छ । जापानमा रहेका नेपालीबीचको एकता, भाइचारा र नयाँ पुस्ताबीचको पारस्परिक सम्बन्धलाई मजबुत बनाउँदै आध्यात्मिक चिन्तनको उजागर गर्न÷गराउन महायज्ञ आयोजना गरिएको एनआरएनए जापानले जानकारी दिएको छ । एकीकृत नेपाली घर निर्माणका लागि स्रोत जुटाउने महायज्ञको लक्ष्य भए पनि नेपालीबीच मेलमिलाप, शान्ति र सकारात्मक भाव जगाउँदै पूण्यकर्ममा सरिक गराउने उद्देश्य रहेको एनआरएनए जापानका अध्यक्ष सुभास लामिछानेले बताउनुभयो ।
एनआरएनए जापानका पूर्वअध्यक्ष नवीन निउरेले जापानमा एकीकृत नेपाली घरः बहु सांस्कृतिक केन्द्र निर्माणका लागि टोकियोको चिवा केनमा जग्गा खरिद भइसकेकाले उक्त जग्गामा भवन निर्माण गर्न महायज्ञमार्फत रकम संकलन गर्ने उद्देश्यसहित महायज्ञ आयोजना गरिएको बताउनुभयो ।



महायज्ञले नेपाली कला, संस्कृतिलाई जापानमा प्रवद्र्धन गर्न र नयाँ युवा पुस्तालाई पूर्वीय दर्शन पुस्तान्तरण गर्न एक महत्त्वपूर्ण कदम हुने विश्वास आयोजकले लिएको छ ।
महायज्ञलाई व्यवस्थित, मर्यादित र अनुशासित ढङ्गले परिणाममुखी बनाउन विभिन्न उपसमिति निर्माण गरिएको एनआरएनए जापानले जनाएको छ ।



