काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली मिडियाको संरचनागत सुधारका लागि सरकार तयार रहेको बताउनु भएको छ । नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनको उदघाटनका क्रममा मन्त्री तिमिल्सिनाले नेपाल पत्रकार महासंघसहित सरोकारवाला निकायका नेतृत्वलाई स्पष्ट योजनासाथ छलफलमा आउन आव्हान गर्नुभएको हो ।

सञ्चार माध्यम बलियो नहुँदासम्म पत्रकार र सञ्चारकर्मी पनि बलियो हुन नसक्ने भन्दै उहाँले सञ्चार माध्यमलाई बलियो बनाउनेगरी सरकारले काम गरिरहेको स्पष्ट पार्नुभयो । सरकारले गर्ने निर्णयहरुमा कतिपय संवेदनशील सूचनाहरु बाहिर नलग्दा नै देश र जनताको हित हुन्छ भने त्यस्ता सूचना गोप्य राख्न सकिने भन्दै उहाँले कुन सूचना दिने र कुन सूचना नदिने भन्ने विषय संविधानले नै व्यवस्था गरेको बताउनुभयो ।

प्रकाशित भएका समाचार हटाउन कानुनसम्मत नहुने भन्दै उहाँले पोष्ट डिलिट गर्नुभन्दा सन्तुलित र परिपक्व समाचार लेख्न पत्रकारसँग आग्रह गर्नुभयो । सरकारले कुनै गलत नीति मिडियामाथि इम्पोज नगर्ने स्पष्ट पार्दै उहाँले पत्रकारितामा रहेका विकृतिलाई भने सच्याउन आवश्यक रहेको बताउनुभयो । प्रेस जगतमा राजनीति हुनु राम्रो नभएको भन्दै उहाँले निश्पक्ष र जिम्मेवार पत्रकारिता गर्न पत्रकारसँग आग्रह गर्नुभयो ।

सञ्चार माध्यम स्वतन्त्रताको नाममा स्वच्छन्दता हुन नहुने भन्दै उहाँले पत्रकारलाई जिम्मेवार भएर कलम चलाउन आग्रह गर्नुभयो । सरकारी सञ्चार माध्यमलाई मात्र सरकारी विज्ञापन दिने नीतिमा महासंघसहित सरोकारवाला सञ्चार सम्बद्ध संघ संस्थाले विरोध गरेको विषयमा उहाँले यसअघि ६० देखि ६५ प्रतिशत सरकारी विज्ञापन विचौलियाको नाममा जाने गरेको र ५ देखि ६ अर्व सरकारी रकम सदुपयोग गर्ने नीति सरकारले लिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय