काठमाडौं । नेपालको समकालीन राजनीतिमा शेरबहादुर देउवा एक राजनीतिक खेलाडी हुन् । देउवा अर्थात् संघर्ष, भाग्य, विवाद र पुनरागमनका अध्यायहरूले ७९ वर्षसम्म नेपाली राजनीतिका देउवा मियो रहनुभयो । तर यो यात्रा अन्ततः जेन–जी आन्दोलनपछि अन्त्यतिर पुगेको छ । ७९ वर्षको उमेरमा मंगलबारदेखि कार्यकारी भूमिकाबाट विदा लिँदै उपसभापति पूर्णबहादुर खड्कालाई पार्टी जिम्मेवारी सुम्पिनुभयो । योसँगै नेपालको राजनीतिमा उहाँको सक्रिय उपस्थितिको एउटा युग अन्त्य भएको छ । डडेलधुराको रुवाखोलास्थित अस्रिगाममा २००३ सालमा जन्मिनुभएका देउवा १७ वर्षको उमेरदेखि नै राजनीतिमा सक्रिय हुनुभयो । २५ वर्षकै उमेरमा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष बन्नुभएका उहाँ त्यसयता कहिल्यै पछाडि फर्किनुपरेन । शिक्षण र अध्ययनका लागि बेलायत पुगेका बेला ०४६ को आन्दोलन चलिरहेको थियो । आन्दोलन सफल भएपछि फर्किनुभएका देउवा ०४८ मा गृहमन्त्री बन्नुभयो । त्यसयता निरन्तर संसद्मा निर्वाचित हुने उहाँ नेपाली राजनीतिमा एक मात्र व्यक्ति हो ।

देउवाको राजनीतिक उचारचढाव

पाँच पटक प्रधानमन्त्री भएर सिंहदरबारको सिंहासन सम्हालेपनि उहाँले कहिल्यै स्थिर शासन चलाउन पाउनुभएन । उहाँका पाँचै कार्यकाल छोटा रहे । देउवा २०५२ भदौ, ०५८ साउन, ०६१ जेठ, ०७४ जेठ र ०७८ असारमा गरी पाँच पटक प्रधानमन्त्री हुनुभयो । ०५८ मा प्रधानमन्त्री बन्नुभएका देउवालाई ०५९ साल असोज १८ मा तत्कालीन राजा ज्ञानेन्द्रले प्रतिगामी कदम चाल्दै सत्ताबाट हटाउनुभएको थियो । त्यसपछि राजाको प्रतिगमनविरुद्धको आन्दोलन चर्किएको थियो । प्रतिगमनकै बीच ज्ञानेन्द्रले देउवालाई ०६१ जेठमा पुनः प्रधानमन्त्री बनाउनुभयो । राजाले पुनर्बहाली गर्ने भनेपछि देउवा प्रतिगमन सच्चिएको भन्दै प्रधानमन्त्री बन्नुभएको थियो । तर ०६१ साल माघ १९ मा ज्ञानेन्द्रले देउवालाई पुनः हटाउँदै सक्रिय शासन सुरु गर्नुभएको थियो । मंगलबारको अन्तिम कार्यसमिति बैठकमा उहाँले १३ पृष्ठ लामो मन्तव्यमा आफ्ना उपलब्धिहरूको फेहरिस्त प्रस्तुत गर्दै कमैयाँ मुक्ति, छुवाछुतमुक्त नेपाल, वैज्ञानिक भूमिसुधार र मुलुकी ऐनको ११औं संशोधन आफ्नो कार्यकालका उपलब्धि भएको दावी गर्नुभयो । मुलुकको कर प्रणालीलाई आधुनिक बनाउने मूल्य अभिवृद्धि कर लागू गरेको गर्व पनि सुनाउनुभयो ।

तर सुशासनभन्दा बढी बेथिति र काण्डको आरोपले उहाँको शासनकाललाई ढाक्न पुग्यो । उहाँकै समयमा भएको महाकाली सन्धि अहिले पनि विवादमा आउने गर्दछ । त्यसबाहेक सांसद खरिदबिक्रीदेखि सुरा–सुन्दरीकाण्डसम्मका विवादले उहाँको छवि धुमिल बनायो । त्यसबाहेक वाइडबडी खरिद प्रकरणदेखि पार्टीभित्र उहाँले आफूलाई सधैं केन्द्रमा राख्ने तर नेतृत्व हस्तान्तरणको संस्कृतिलाई बढ्न नदिने जस्ता आरोप खेप्नुभयो । सामान्य परिवारका व्यक्ति भए तापनि पछिल्लो समय देउवा विलासी जीवनशैलीका लागि आलोचित हुँदै आउनुभयो ।

मंगलबारपछि अब देउवा पार्टीको शक्ति–सन्तुलनको खेलमा नफर्कने संकेत गर्छन । तर, उहाँको राजनीतिक छायाँ भने अझै कांग्रेसमा बाक्लै रहने अनुमान गरिन्छ । सत्ताको म्युजिकल चेयरको अन्त्य, जेन–जी आन्दोलनको झट्का र नयाँ पुस्ताको उदयले नेपालको पुरानो शक्तिमध्ये देउवालाई विश्राम दिएको छ । तर इतिहासमा उहाँ कसैका लागि भाग्यमानी नेता, कसैका लागि अवसरवादी राजनीतिज्ञ र कसैका लागि लोकतान्त्रिक यात्राको एउटा अनिवार्य पात्रका रूपमा चित्रित भइरहनुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय