काठमाडौं । नेपाल–भारत सीमाको प्रमुख प्रवेशद्वार रुपन्देहीस्थित बेलहिया नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत गरिने भएको छ । ‘नेपाल आइपुगेको अनुभूति गराउने’ उद्देश्यसहित बेलहिया गाउँ समाजले बेलहियादेखि डण्डाखोला पुलसम्मका विद्युतीय पोलमा करिब १ सय वटा राष्ट्रिय झण्डा राखेको हो ।
कार्यक्रम संयोजक अर्जुनकुमार गिरीले भारतबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने पर्यटकलाई देश प्रवेशको स्पष्ट अनुभूति दिलाउने उद्देश्यले यो अभियान सुरु गरिएको बताउनु भयो ।



उहाँले झण्डा स्थापनाले नाका क्षेत्रको शौन्दर्य अभिबृद्धिमा समेत टेवा पुग्ने विश्वास लिइएको छ । राष्ट्रिय पहिचान झल्काउन झण्डाको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै गिरीले यो कार्यले देशभर सकारात्मक सन्देश फैलाउने अपेक्षा व्यक्त गर्नुभयो ।
बेलहिया गाउँ समाजका अध्यक्ष सुमन शर्माले ‘सफासुग्घर र हराभरा बेलहिया’ निर्माण अभियानलाई निरन्तरता दिइने बताउनुभयो ।
स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने पर्यटकको संख्याका हिसाबले बेलहिया नाका देशकै सबैभन्दा व्यस्त नाका मानिन्छ ।



