काठमाडौं । नेपाल इतिहास संघले एकदिवसीय राष्ट्रिय गोष्ठीको आयोजना गर्ने भएको छ । आगामी असार ९ गते शनिबार चन्द्रागिरि नगरपालिकाको वडा नं. १ इन्द्रथान दहचोकमा आयोजना हुने कार्यक्रममा त्रिभुवन विश्वविद्यालयलगायत अन्य विश्वविद्यालय, अनुसन्धान केन्द्र, पुरातत्व विभाग र थुप्रै शैक्षिक प्रतिष्ठानमा साधनारत विद्वान् प्राध्यापक, अन्वेषक, कृतिकार, विषय विज्ञहरुको संलग्नता रहने संघले जनाएको छ ।
कार्यक्रममा रानजीतिक विश्लेषक डा. सुरेन्द्र केसीद्वारा समसामयिक राजनीतिक परिवेश र भावी कार्यदिशा शीर्षकमा कार्यपत्र प्रस्तुत गर्ने तालिका रहेको छ । कार्यपत्र माथि प्रा. डा. गोविन्दमान सिंह कार्कीले टिप्पणी गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी सह–प्राध्यापक बमबहादुर अधिकारीले नेपालको आधुनिक इतिहासमा दहचोकगढी (खलंङ्गा) को ऐतिहासिक तथा पर्यटकीय महत्वको विषयमा अभिव्यक्ति प्रस्तुत गर्नुहुनेछ । उक्त कार्यपत्रमाथि पुरातत्वविद् श्रीप्रकाश दर्नालले टिप्पणी प्रस्तुत गर्नुहुने छ ।



वीर योद्धा कालु पाण्डेको समाधिस्थल स्तम्भ र शालिक रहेको दहचोकगढीमा आयोजित गोष्ठीले यहाँका विशिष्टतालाई सुरक्षा, सम्बद्र्धन, प्रवद्र्धन, विकास, विस्तार गर्दै देश देशाटनमा यसको पहिचान अभिवृद्धि गर्न गोष्ठी महत्वपूर्ण हुने इतिहास संघका अध्यक्ष प्रा.डा. ज्ञानेन्द्र पौड्यालले विश्वास व्यक्त गर्नुभएको छ । कार्यक्रममा विषयगत प्राध्यापक, विद्धान, अन्वेषक, कृतिकारलगायत एक सय पचास जनाभन्दा बढीको सहभागिता हुने आयोजकले जनाएको छ । संघले आवश्यकता, औचित्यता र साधन स्रोतको उपलब्धताका आधारमा राष्ट्रिय गोष्ठी, अन्तर्राष्ट्रिय सेमिनार, अन्तरक्रियात्मक कार्यशाला, स्थलगत अवलोकन र बौद्धिक अभिमुखिकरण लगायतका कार्यक्रम गर्दै आएको छ । यसअघि लुम्विनी, जनकपुर, विराटनगर, काठमाडौं, डोटी, भोजपुर, बागलुङ, काभ्रेपलाञ्चोकको पनौतीलगायतका दर्जनौं स्थानमा विभिन्न कार्यक्रम सफलताका साथ सञ्चालन गरिसकेको छ ।



