नेपाल–चीन सीमा अन्तर्गत मुगुको उत्तरी नाक्चेलाग्ना नाका दुई साताका लागि खुला गरिने भएको छ। कोरोना महामारीपछि बन्द रहेको यो नाका यस वर्ष साउन २५ गतेदेखि भदौ ७ गतेसम्म सञ्चालनमा ल्याइने जिल्ला प्रशासन कार्यालय, मुगुले जनाएको छ। चीनको स्वशासित क्षेत्र ह्याँजिमारमा आयोजना हुने द्विपक्षीय व्यापार मेलामा सहभागिताका लागि यो नाका खुला गर्न लागिएको हो। नेपालका तर्फबाट गृह मन्त्रालयको निर्देशनमा चिनियाँ प्रशासनसँगको आपसी सहमतिमा यो निर्णय भएको हो। मुगुमकार्मारोङ गाउँपालिका र चिनियाँ प्रशासनबीच समन्वय गरी नाका खुलाउने तयारी गरिएको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म पाँच सयभन्दा बढी स्थानीयले सीमा पास (पारपत्र) नवीकरण वा नयाँ बनाएका छन्। उनीहरू मेलामा सहभागी भई आवश्यक सामग्रीको किनमेल गर्ने उद्देश्यले चीन प्रवेश गर्नेछन्। ह्याँजिमारमा लाग्ने व्यापार मेलामा मुगु, हुम्ला र जुम्लाका नागरिकहरूले आफूलाई वर्षभरि आवश्यक पर्ने चामल, मैदा, नुन, तेल, लत्ता कपडा, जस्तापाता, सिमेन्ट, विद्युतीय सामान, मिठाइ र घरायसी सामग्री किन्ने गर्छन्। नेपालबाट भने यार्सागुम्बा, जडीबुटी, काठका लौरी, सिमी, फलफूल र तरकारीका भुजा लगायतका वस्तु चीन पठाइन्छ। स्थानीय व्यापारीहरूले यी सामग्रीहरू बेच्ने वा सिधै चिनियाँ व्यापारीसँग वस्तु साटासाट गर्ने गर्छन्।

सुरक्षा व्यवस्थासँगै सीमामा कडाइ
नाका खुल्दा सीमावर्ती क्षेत्रमा अवैध र आपराधिक गतिविधि हुन नदिन सशस्त्र प्रहरी बल र जनपथ प्रहरीको टोली परिचालन गरिएको छ। जिल्ला प्रशासन कार्यालयले सीमामा कडाइका साथ सुरक्षा निगरानी गरिने जनाएको छ।

मुगुमकार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याफ्ने लामाका अनुसार तीन वर्षअघि नै चीनस्थित नेपाली दूतावास र परराष्ट्र मन्त्रालयलाई नाका छ महिनासम्म खोल्न प्रस्ताव गरिएको थियो, तर अझै प्रतिक्रिया आएको छैन। सडक सुविधा नहुँदा अहिले पनि स्थानीयले सामान ओसारपसारका लागि चौरीगाई, घोडा र खच्चरमा भर पर्नु परेको छ। सदरमुकाम गमगढीदेखि नाकाचेलाग्ना जोड्ने ८७ किलोमिटर लामो सडक सन् २०६३ सालदेखि निर्माण सुरु भएको भए पनि हालसम्म १७ किलोमिटर मात्र ट्र्याक खुलेको छ। स्थानीय बासिन्दा र व्यापारीहरूले यस्तो व्यापारिक अवसरलाई अझ दीर्घकालीन बनाउन सरकारसँग आग्रह गरेका छन्। उनीहरू नाका वर्षभर सञ्चालन हुने वातावरण बनाउन र पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताउँछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय