काठमाडौं । नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको चौधौं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई पदस्थापन तथा सम्मान गरिएको छ ।
समितिको चौधौं वार्षिक साधारण सभा तथा आठौं अधिवेशन २०८२ साल चैत १३ र १४ गतेको अधिवेशनबाट १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको थियो । अधिवेशनमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष गरी तीन पदमा मात्र निर्वाचन भएको थियो भने बाँकी १६ पदमा उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए ।



नयाँ कार्यसमितिको अध्यक्षमा अमर श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा हेमराज श्रेष्ठ, प्रथम उपाध्यक्षमा रत्नमणि पाठक (हरि), द्वितीय उपाध्यक्षमा कुमार श्रेष्ठ, तृतीय उपाध्यक्षमा मनोज कार्की, सचिवमा प्रदीप बस्नेत, सहसचिवमा दीपेन्द्र थापा, कोषाध्यक्षमा राजन श्रेष्ठ तथा सहकोषाध्यक्षमा सविनकुमार राई रहेका छन् ।
त्यसैगरी सदस्यहरूमा साजन पौडेल, प्रविन श्रेष्ठ, साविका त्वानाबासु, राजेन्द्र लामा, राजेश अकौलिया, बैकुण्ठ प्याकुरेल, राजु रेग्मी, प्रमोद थापा, विष्णुबहादुर क्षेत्री र राजु पौडेल रहेका छन् ।
संघीय सांसद एवम् पूर्वाधार विकास समितिका सभापति माननीय आशिष गजुरेलले नेपालको निर्माण, पूर्वाधार विकास तथा ढुवानी प्रणालीमा ट्रिपर तथा ट्रक व्यवसायीहरूको योगदान उल्लेखनीय रहेको भन्दै व्यवसायलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउँदै लैजान आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले व्यवसायीबीचको एकता, संस्थागत सुशासन र राज्यका निकायसँगको प्रभावकारी समन्वयमार्फत यातायात क्षेत्रका साझा समस्या समाधान गर्न नयाँ नेतृत्वले सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नवनिर्वाचित अध्यक्ष श्रेष्ठप्रति व्यवसायीहरूले गरेको विश्वासलाई जिम्मेवारीका रूपमा ग्रहण गर्दै सम्पूर्ण सदस्यको हित, व्यवसायको संरक्षण, व्यवसायीका हक-अधिकारको प्रवद्र्धन तथा संस्थाको संस्थागत विकासलाई प्राथमिकतामा राखेर काम गर्ने आग्रह गर्नुभयो । उहाँले समितिका सम्पूर्ण निर्वाचित पदाधिकारीहरुलाई पारदर्शी, उत्तरदायी र व्यवसायीमैत्री बनाउँदै सबैलाई समेटेर अघि बढ्न सुझाव दिनुभयो ।
नेपाल ट्रिपर तथा ट्रक ब्यवसायी समितिका नवनिर्वाचित अध्यक्ष अमर श्रेष्ठले नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति देशभरका ट्रिपर तथा ट्रक व्यवसायीहरूको साझा संस्था भएकोले व्यवसायीहरूको पेशागत हकहित संरक्षण, सुरक्षित तथा व्यवस्थित ढुवानी प्रणालीको विकास, व्यवसायिक एकता सुदृढीकरण र सम्बन्धित निकायसँग समन्वय गर्दै नीतिगत सुधारका लागि आवाज उठाउँदै अघि बढ्ने बताउनु भयो ।
ललितपुरस्थित द प्लाजामा आयोजित कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई औपचारिक रूपमा पदस्थापन गरिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।



