त्रिकोणात्मक महिला ट्वेन्टी(ट्वेन्टी श्रृंखलामा नेपालले लगातार पाँचौ हार बेहोरेको छ । नेपाल आफ्नो पाँचौ खेलमा नेदरल्याण्ड्ससँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्याण्ड्सले दुई बल बाँकी छँदै विना क्षति पूरा गरेको हो । नेदरल्यान्ड्सका लागि स्टेर कालिस ९८ र फिबे मोल्केनबोर ४८ रनमा अविजित रहे । ६७ बल खेलेकी कालिसले ११ चौका र एक छक्का प्रहार गरि। फेबेले ४९ बलमा चार चौकासहित ४८ रन बनाइन ।



यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ४५ रन बनायो । पूजा महतोले अविजित ६२ रन बनाई महिला ट्वेन्टी(ट्वेन्टी अन्तर्राष्ट्रियमा आफ्नो उच्च स्कोर बनाइन् । गत वर्षको फेब्रुअरीमा उनले माल्दिभ्सविरुद्ध मलेसियामा आफ्नो पहिलो अर्धशतक बनाउनेक्रममा अविजित ५९ रन बनाएकी थिइन् । कप्तान इन्दु बर्माले ३९ रन बनाइन् । सम्झना खड्का ६ रन बनाई पहिलो ओभरमा र अर्की ओपनर ममता चौधरी १ रन बनाई आउट भएपछि इन्दु र पूजाले तेस्रो विकेटमा ६३ बलमा ७८ रनको साझेदारी गरिन् । पूर्वकप्तान रुविना क्षेत्रीले २० रन बनाउँदा कविता जोशी ७ रनमा अविजित रहिन् ।
नेदरल्यान्ड्सका लागि आइरिस विलिङले २ तथा क्यारोलिन डी लाङ्गे र हिथर्स सिगर्सले १–१ विकेट लिए । घरेलु टोली नेपाल चार खेलसम्म जितविहिन छ । नेपालले यसअघि नेदरल्याण्ड्ससँग २० र १५ रनको हार व्यहोरेको थियो । त्यस्तै थाइल्याण्डसँग ४ विकेट र ५ रनले पराजित भएको थियो । नेदरल्याण्ड्स चार खेलमा दुई जितसहित दोस्रो स्थानमा छ । शीर्ष स्थानको थाइल्याण्डले सबै चार खेल जितेको छ ।



