काठमाडौं । छठ पर्व सुरु भएसँगै नेपाल–भारतको सीमावर्ती नाकासँग जोडिएको भद्रपुरको मेची नदी किनारमा छठको तयारीलाई तीव्रता दिइएको छ । कात्तिक १० गते सोमवार बेलुका अस्ताउँदो सूर्य र ११ गते मंगलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै मनाइने तराईवासीको मुख्य चाड छठ पर्वलाई भव्यता दिन मेची नदी किनार सिंगार्न थालिएको हो ।

भारतको पश्चिम बंगाल तथा बिहार गरी दुईवटा राज्यसँग जोडिएको भद्रपुरस्थित मेची नदीमा मनाइने छठ पर्वलाई भव्यता दिन दुवै देशका भक्तजनसहित मैथिली समाज र युनिक समूह भद्रपुर सामूहिक रूपमा तयारीमा जुटेका छन् । भद्रपुर नगरपालिका कार्यालयको सहयोगमा दुवै समितिले मेची नदीमा पूजा स्थल (घाट)देखि बिजुली बत्ती जडान, अस्थायी बाँसे पुल निर्माण, सरसफाइ, सडक, खानेपानी व्यवस्थापन, सुरक्षा बिट, स्वागत गेट, हेल्प डेस्क, सूर्य भगवानको मुक्ति स्थल निर्माणलगायत काम भइरहेको छ । दशैं सकिएलगत्तै तयारीमा जुटिपरेको आयोजक समितिले बताएको छ ।

भद्रपुर वडा नम्बर–५ स्थित मसानघाटदेखि मेची पुलको मुख्यद्वार हुँदै देवीबस्तीसम्मको करिब दुई किलोमिटर वारिपारि नेपाल र भारतका भक्तजनहरूले करिब पाँच हजारभन्दा बढी पूजा स्थल बनाएर छठ पर्व मनाउँछन् । यहाँ मारवाडी, बंगाली, राजवंशी, पहाडी मुलका मानिसहरुले मेची नदीमा छठ पर्व मनाउने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय