भारतीय सीमा सुरक्षाकर्मीहरुले नेपाल भारत सीमा नाकामा कडा निगरानी बढाएका छन् । पाकिस्तानी महिला सीमा हैदर कपिलवस्तुको सीमा नाकाबाट भारत प्रवेश गरेको भन्दै भारतीय सीमा सुरक्षाकर्मीहरुले कपिलवस्तु जिल्लाको कृष्णनगर, मर्यादपुर, चाकरचौडा लगायतका सीमा नाकाहरुमा कडा निगरानी बढाएका हुन् ।
सीमा नाकामा परिचय खुल्ने नागरिकता, मतदाता परिचय पत्र, आधार कार्ड, सवारी साधन चालक अनुमति पत्र, जन्म दर्ता लगायतका कागजपत्रबाट परिचय खुले मात्रै सीमा पार गर्न दिईएको छ । अचानक औषधी उपचार गर्न भारत तर्फ जान लागेका नेपाली सर्वसाधारणहरु भारत प्रवेश गर्न नपाउंदा यसबाट समस्या समेत बढेको छ ।



।बुटवल, पोखरा र काठमाण्डौंबाट दिल्ली तर्फ जाने नेपाल तर्फका बसहरुको आवागमनलाई समेत भारतीय सुरक्षाकर्मीहरुले रोक लगाएका छन् । सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षाकर्मीहरुले प्रत्येक यात्रु तथा सीमा पार पार्ने सर्वसाधारणहरुलाई शारिरिक रुपमा साथै मालसामान र सवारी साधनहरुको कडा चेकजांच गरेर मात्रै सीमा पार गर्न दिएका छन् । तर सीमा क्षेत्रमै नेपाल तर्फ खटिएका सुरक्षाकर्मीहरु भने चेक जांच तथा अन्य सीमा सुरक्षाका बारेमा बेखबर देखिएका छन् ।



