नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ५ वर्षे कार्यकाल सकेर शुक्रबार बिदा हुनु भएको छ । कोराना महामारीले मुलुक लकडाउनमा रहेका बेला गभर्नरको जिम्मेवारी सम्हाल्न आइपुग्नु भएका अधिकारी अवकाशमा जाँदा राष्ट्र बैंकको जिम्मामा रहेका अधिकांश तथ्यांकहरू उत्साहप्रद छन् । कहिले नरम कहिले गरम देखिनु भएका गभर्नर अधिकारीलाई सरकारलाई असहयोग गरेको आरोप मात्रै लागेन बर्खास्तीमा समेत पर्नुभयो । आफ्नो कार्यकालमा कोरोनाले थलिएको अर्थतन्त्रलाई लयमा फर्काउनदेखि, डिजिटल भुक्तानीको आधुनिकीकरण, वित्तीय पहुँच विस्तार र कानूनी सुधारमा उल्लेख्य काम भएको दाबी गर्नुभएको छ। हेरौं गर्भनर अधिकारीको कार्यकाल कस्तो रह्यो ।



कोरोना महामारीका कारण मुलुक लकडाउनमा रहेका बेला २०७६ चैत २४ गते सरकारले अधिकारीलाई राष्ट्र बैंकको १७औं गभर्नर नियुक्त गरेको थियो । कार्यकालको पहिलो मौद्रिक नीतिबाट अधिकारी बाहबाहीको पात्र बन्नु भएको थियो । तर बिडम्बना दोस्रो मौद्रिक नीतिदेखि नै आलोचनाको बर्षा सुरु भयो । कसिलो मौद्रिक नीति र चालू पूँजी कर्जा निर्देशनका कारण आलोचना बढ्यो । कार्यकालको दोस्रो वर्षमै राजनीतिक निशानामा पनि पर्नुभयो । एमालेको अर्थसमितिमा छद्म नाममा बसेर माओबादी र कांग्रेसको सरकार बनेका बेला असयोग गरेको आरोप मात्रै लागेन तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बर्खास्त नै गरिदिनुभयो । तर सर्वोच्च अदालतको फैसलापछि पुनबर्हाली हुनुभयो, उहाँ । चाटर्ड एकाउन्टेन्ट गभर्नर अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै अदालमा मुद्दा समेत पर्यो । अर्थतन्त्रको आरोह–अवरोह, व्यक्तिगत बिवाद, बजारको असन्तुष्टि र योग्यतामाथिको बिवादकाबीच ५ वर्षे कार्यकाल विताउनुभएका अधिकारीले जाँदा(जाँदै आफूले सुधार गरेको दाबी गर्नुभएको छ । शुक्रबार राष्ट्र बैंकबाट बिदा हुँदै गर्दा बाह्य क्षेत्र व्यवस्थापन, भुक्तानी प्रणालीको आधुनिकीकरण, कोभिड प्रभाव न्यूनीकरण तथा आर्थिक पुनरुत्थान, वित्तीय पहुँच र वित्तीय साक्षरता अभिवृद्धि, कानूनी, नीतिगत तथा प्रक्रियागत सुधारमा उल्लेख्य काम भएको उहाँको दाबी छ ।
बैंक तथा वित्तीय संस्थाको संख्या २०७६ चैतमा १६२ वटा थियो । मर्जर प्राप्ति सम्बन्धि नीति अनुसार त्यो घटेर १०६ वटामा झरेको छ ।
यो ५ वर्षमा ४१ वटा कार्यविधि, १८ वटा मार्गदर्शन, ११ वटा निर्देशिका, ११ वटा नीति, १६ वटा नियमावली र ९ वटा फ्रेमवर्क जारी गरेको छ ।
गभर्नर अधिकारी आउँदा र जादा राष्ट्र बैंकको जिम्मा रहेका तथ्यांकहरू कस्ता रहे ।
महाप्रसाद अधिकारी आउँदा
आर्थिक वर्ष २०७५–०७६
मूल्य वृद्धि : ४.४ प्रतिशत
कर्जाको ब्याजदर १२ प्रतिशत
शोधनान्तर :७६ अर्बले घाटामा
चालू खाता : २ खर्ब ४ अर्ब रुपैयाँले घाटा
विदेशी मुद्राको सञ्चिती : ९ अर्ब ५० करोड डलर
महाप्रसाद अधिकारी जाँदा
आर्थिक वर्ष २०८१–०८२
मूल्य वृद्धि :४.१६ प्रतिशत
कर्जाको ब्याजदर : ८.५५ प्रतिशत
शोधनान्तर : २ खर्ब ८४ अर्ब ४१ करोड रुपैयाँ बचत
चालू खाता : १ खर्ब ६६ अर्ब रुपैयाँ बचत
विदेशी मुद्राको सञ्चिती : १७ अर्ब ५ करोड डलर
अधिकारी अवकाशमा जाँदा राष्ट्र बैंकको जिम्मा रहेका अधिकांश तथ्यांकहरू उत्साहप्रद छन् । केपी शर्मा ओली नेतृत्वकै सरकारको पालामा गभर्नर नियुक्त हुनु भएका अधिकारीले एमालेप्रतिको राजनीतिक आस्था देखाई इतर पार्टीका सरकारमा गएको बेला असहयोग गरेको आरोप लाग्यो । कांग्रेस र माओवादी केन्द्रबाट अर्थमन्त्रीहरूले त्यो गुनासो मात्रै गरेररन जनार्दन शर्माले त बर्खास्त गरिदिनुभयो । सरकार र अन्तर्राष्ट्रिय मुद्रा कोषको हस्तक्षेपलाई साथ दिएको उहाँमाथि अरोप पनि लाग्यो । घरजग्गा, शेयर बजार र अटो व्यवसायमा अनुदार बनेको गुनासो पनि आए । राष्ट्र बैंकको केही अनुदार नीतिकै कारण बाह्य अर्थतन्त्र ठिकठाक हुँदा हुदै पनि आन्तरिक अर्थतन्त्र चलायमान बन्न नसेको गुनासो बजारमा व्याप्त छ ।



