काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। प्राधिकरणले विद्युत् बिक्री, ब्याज तथा अन्य माध्यमबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ, भने विद्युत् खरिद, प्रशासनिक खर्च तथा विभिन्न आयोजना खर्च गरी ५९ अर्ब ८ करोड रुपैयाँ खर्च भएको छ।

२०७२/७३ मा ८ अर्ब ८९ करोड घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूमा निरन्तर नाफामा रहँदै आएको छ। गत आर्थिक वर्ष २०८०/८१ मा १४ अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गरेको प्राधिकरणले यस वर्ष पनि उल्लेख्य आर्थिक प्रगति गरेको छ।प्राधिकरणले पहिलो ६ महिनामा ५३ अर्ब १८ करोड रुपैयाँ बराबरको विद्युत् बिक्री गरेको छ। सहायक तथा सम्बद्ध कम्पनीहरूबाट १ अर्ब १५ करोड युनिट र निजी उत्पादक कम्पनीहरूबाट ५ अर्ब १६ करोड युनिट गरी जम्मा ६ अर्ब ३१ करोड युनिट विद्युत् खरिद गर्न ३४ अर्ब ८४ करोड रुपैयाँ भुक्तानी गरेको छ।

विद्युत् व्यापारमा भारतसँगको कारोबारले पनि महत्त्वपूर्ण योगदान गरेको छ। भारतबाट २४ करोड २० लाख युनिट विद्युत् आयात गरी १ अर्ब ६५ करोड रुपैयाँ भुक्तानी गरिएको छ, भने १ अर्ब ७७ करोड १८ लाख युनिट विद्युत् निर्यात गरी १३ अर्ब ९ करोड रुपैयाँ आम्दानी भएको छ। विद्युतीकरण र पूर्वाधार विकासमा लगानी बढाउँदै, प्राधिकरणले विभिन्न आयोजना तथा विकास कार्यमा सरकार र वैदेशिक सहायताबाट प्राप्त १३ अर्ब ३५ करोड रुपैयाँ खर्च गरेको छ भने वैदेशिक सहायता सोझै भुक्तानीतर्फ १० अर्ब ४९ करोड रुपैयाँ खर्च भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय