संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिदैछ । बालुवाटारस्थित निवासवाट शवयात्रा गरेर पशुपतिमा उनको अन्त्येष्टि गर्न लागिएको हो । नेम्वाङको शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्वाराही–चावहिल– गौशाला हुँदै पशुपतिसम्म रहेकोे छ ।



त्यसपछि विहान ११ बजे पशुपतिमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने छ । सो क्रममा सेनाको एक टुकडीले राष्ट्रिय सम्मानस्वरूप अन्तिम सलामी दिनेछ । संविधान निर्माण प्रक्रियामा उनले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राजकीय सम्मान दिने निर्णय गरेको हो । सरकारले उनको अन्त्येष्टि हुने दिन आज सार्वजनिक बिदा समेत दिएको छ । नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ बेलायत र कान्छा छोरा सुहाङ अष्ट्रेलिया रहेकाले फर्केपछि मात्रै निधन भएको तेस्रो दिन अन्त्येष्टि हुन लागेको हो ।
इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङको मंगलबार बिहान साढे १ बजे निधन भएको हो । श्रद्धाञ्जलीका लागि नेम्वाङको पार्थिव शरीर मंगलवार पार्टी कार्यालय च्यासलमा राखिएको थियो । बुधबार बालुवाटारस्थित घरमा किरात परम्परा अनुसार श्रद्धाञ्जली दिइएको थियो ।



