काठमाडौं । नेवार समुदायको भाषा, कला, संस्कृति, रितिरिवाज तथा परम्पराको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यसहित चन्द्रागिरि नगरपालिका–१०, बोसीगाउँ निवासी युवा रक्की महर्जनले नेवारी गीत ‘तं चाय् मते न्हां’ सार्वजनिक गरेका छन् ।

समाज र समुदायका लागि केही सकारात्मक योगदान गर्ने दृढ संकल्प बोकेका महर्जनले आफ्नो पहिलो सांगीतिक प्रयासमार्फत नेवार समुदायको मौलिक पहिचान र सांस्कृतिक सम्पदालाई नयाँ पुस्तासम्म पुर्याउने प्रयास गरेका हुन् । व्यक्तिगत पहलका साथै परिवार, इष्टमित्र, स्थानीय समुदाय तथा चन्द्रागिरि नगरपालिका वडा नं. १० कार्यालयको सहयोगमा तयार भएको उक्त गीत मगन इन्टरटेन्मेन्टको निर्माणमा सार्वजनिक गरिएको हो ।

गीतको प्रिमियर कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी वक्ताहरूले भाषा र संस्कृतिको संरक्षणका लागि युवापुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै रक्की महर्जनको प्रयासलाई प्रशंसनीय कदमका रूपमा चित्रण गरेका थिए ।

युवा पुस्तालाई आफ्नो भाषा, कला र संस्कृतिप्रति आकर्षित गर्दै समुदायको सांस्कृतिक चेतना अभिवृद्धि गर्ने लक्ष्यसहित सार्वजनिक गरिएको ‘तं चाय् मते न्हां’ ले नेवार समुदायको सांस्कृतिक सम्पदालाई थप उजागर गर्ने विश्वास लिइएको छ ।

कार्यक्रममा सहभागीहरूले कला र संस्कृतिको माध्यमबाट समाजसेवामा समर्पित रक्की महर्जनको आगामी यात्रा सफल, प्रभावकारी र प्रेरणादायी बन्ने शुभकामना व्यक्त गरेका थिए ।

आधुनिकताको बढ्दो प्रभावका बीच मौलिक भाषा, संस्कृति र परम्पराको संरक्षण चुनौतीपूर्ण बन्दै गइरहेको अवस्थामा यस्ता सिर्जनात्मक प्रयासले समुदायको पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय