रामेछापको मन्थलीमा नेवारी समुदायको परम्परागत सांस्कृतिक पहिचानका रूपमा रहेको लाखे नाच सुरु भएको छ। नेवाः खल र नेवाः दय दवु रामेछापको संयुक्त आयोजनामा प्रत्येक वर्षझैं यस वर्ष पनि लाखे नाच, धिमेबाजा, गाईजात्रा, विवाह जात्रा, रोपाइँ जात्रालगायत कार्यक्रमहरू आयोजना गरिएका छन्।आयोजक संस्थाका अनुसार कार्यक्रम कृष्णजन्माष्टमीसम्म सञ्चालन हुनेछ। कार्यक्रम “नेवारी कला र संस्कृति हाम्रो पहिचान, कला र संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन हाम्रो अभियान” भन्ने नाराका साथ आयोजना गरिएको हो।

नेवाः दय दवु रामेछापका कोषाध्यक्ष प्रमोद श्रेष्ठले बताएअनुसार, पाँच वर्षदेखि मन्थलीमा निरन्तर लाखे नाच प्रदर्शन हुँदै आएको छ। यस्तै परम्परा रामेछाप जिल्लाको चिसापानी, भंगेरी, ठोसेलगायत स्थानहरूमा पनि जनै पूर्णिमापछि गाईजात्रा पर्वदेखि कृष्णजन्माष्टमीको भोलिपल्ट लाखे मारेपछि सम्पन्न गरिन्छ।स्थानीय विजानवी श्रेष्ठका अनुसार, मन्थली बाहेक अन्य ठाउँमा यो नाच गाइजात्राबाट सुरु गरिन्छ भने मन्थलीमा साउन महिनाभर प्रदर्शन गरिन्छ।

नेवाः खल रामेछापका अध्यक्ष शेखर मान श्रेष्ठले सुरुवाती चरणमा आर्थिक र जनशक्तिको अभावमा कार्यक्रम सञ्चालन गर्न कठिन भए पनि पछिल्लो समय समुदायको एकताका कारण सजिलो भएको बताए। उनले थपे, “हरेक वर्ष मन्थली बजारसहित छिमेकी जिल्ला दोलखा, सिन्धुली आदि स्थानमा पनि नाच प्रदर्शन गर्ने गरेका छौं।”कार्यक्रम हेर्न हाल मन्थली बजारमा दर्शकहरूको उल्लेख्य भीड लाग्ने गरेको छ। मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले नेवारी समुदायको कला र संस्कृतिको संरक्षणका लागि आवश्यक वाद्यबादन सामग्रीहरू उपलब्ध गराइएको जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय