पछिल्लो केही वर्षयता हरेक वर्षको बाढीले जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याइरहेको छ । यसै वर्षको असार अन्तिममा तिब्बतको ल्हेन्दे खोलामा आएको बाढीबाट मानवीय क्षतिसहित करीब २४० मेगावाट क्षेमताको विद्युत आयोजनामा क्षति पुग्यो । असोज १७ देखि १९ गतेसम्म आएको भारी वर्षाका कारण १० जिल्लाका ३२ जलविद्युत आयोजना प्रभावित भएका छन् । केही वर्षयता बाढीले जलविद्युत आयोजनामा अर्बौको क्षति पुर्याइरहेको छ । तर बीमा भुक्तानीदेखि सामान आयातमा भन्सार छुट दिन समेत सरकारले आनाकानी गर्दा मर्कामा परेको गुनासो व्यवसायीको छ । असोजको बाढीपहिरोका कारण १८० मेगावाट क्षमताका १७ आयोजना र निर्माणाधीन अवस्थाका ३३८ मेगावाट क्षमताका १५ जलविद्युत् आयोजना प्रभावित भए । सबैभन्दा बढी प्रभावित भएको कोशी प्रदेशको इलाम जिल्लामा जलविद्युत आयोजना सबैभन्दा धेरै क्षति भएको छ । इलाममा मात्रै सञ्चालनमा आएका १५ वटा जलविद्युत आयोजनाहरुको उत्पादन बन्द भएको छ । बाँकी दुई आयोजनामध्ये कोशी प्रदेशकै पाँचथरको १४.९ मेगावाटको हेवाखोला र बागमती प्रदेशमाको ५२.४ मेगावाटको लिखु ४ जलविद्युत आयोजना प्रभावित भएका छन् । हाल लिखुबाहेक सबै आयोजनाको उत्पादन बन्द छ । कहिलेदेखि संचालनमा आउँन टूंगो छैन ।
सञ्चालन तथा निर्माणाधीन आयोजनाका पहुँचमार्ग अवरुद्ध भएकाले क्षतिको विस्तृत विवरण आउन अझै समय लाग्ने इप्पानले जनाएको छ। निर्माणाधीन जलविद्युत आयोजनाहरुमा सबैभन्दा धेरै क्षति पहुँचमार्गमा देखिएको छ । पहुँचमार्गमा क्षति हुँदा निर्माणाधीन जलविद्युत आयोजनाहरूको समय नै लुम्बिने र लागत समेत बढ्ने छ । त्यतीमात्र होइन क्षति भएका आयोजनाको पुनर्निर्माणका लागि आवश्यक सामान १ प्रतिशत भन्सार तिरेर समान ल्याउन पाउने व्यवस्था भएपनि त्यो छुट नपाएको व्यवसायीको गुनासो छ ।



२०८० को वर्षायाममा बाढीका कारण ४६३ मेगावाट क्षमताका ३० वटा जलविद्युत आयोजनामा आठ अर्ब क्षति भएको थियो । २०८१ मा पनि असारमा आएको बाढीले २० वटा जलविद्युत आयोजनमा २ अर्ब ३१ करोडको क्षति भएको थियो । २०७८ असारमा पनि बाढीका कारण विभिन्न १६ वटा जलविद्युत आयोजनामा १० अर्ब रूपैयाँभन्दा बढीको क्षति भएको थियो । हरेक वर्ष बढ्दै गएको विपद्जन्य घटनाका कारण हुने भौतिक तथा आर्थिक क्षतिले दीर्घकालीन रूपमा विद्युत उत्पादनमा क्षति पुग्नुका साथै लागत मात्रै बढाएको छैन मुलुकको आर्थिक अवस्थामा हुनसक्ने वृद्धीमा समेत ब्रेक लगाएको छ ।



