डोटीका भूकम्प पीडित सात महिनादेखि अस्थायी टहरा र त्रिपालमुनि बस्दै आइरहेका छन् । गतवर्ष कार्तिकदेखि त्रिपालमुनि छाक टार्दै आएका उनीहरुको व्यवस्थापन भने अझै हुन सकेको छैन ।
गत वर्ष कार्तिकमा डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ गैरा गाउँमा भूकम्पले ठुलो जनधनको क्षति गरायो । भूकम्पमा परी ६ जनाले ज्यान गुमाएका थिए भने झण्डै २ हजार २ सय ९७ घरमा भूकम्पबाट क्षति पुगेको छ । तर उचित व्यवस्थापन नहुँदा हालसम्म भूकम्प पीडित परिवारहरु निजी संघ संस्थाले निर्माण गरी दिएका अस्थायी टहरा मुनी बस्दै आएका छन् । जसोतसो जाडो याम काटेर बर्खायाम नजिकिएसँगै उनीहरुको दैनिकी निकै कष्टकर बन्दै गएको छ । तर सरकार भने अझै पनि उनीहरुको व्यवस्थापनमा आल टाल गर्दै आएको भूकम्प पीडितको तर्क छ ।



सरकारले वेवास्ता गर्दै आएका उनीहरु घरबार विहीन त थिए नै,तर पुनः पनि भूकम्पको उच्च जोखिममा उनीहरु नै छन् । तर स्थानीय सरकार भने केवल मुकदर्शक झै बनेको उनीहरुको दुखेसो छ । सरकारले सुरक्षित जीवन यापनका लागी सुरक्षित घर–बासको व्यवस्थापन गरिदिनु पर्ने उनीहरुको माग छ । यती मात्रै भैदिए पनि आफुहरुको दैनिकीमा केही परिवर्तन आउन सक्ने उनीहरुको अनुमान छ । व्यवस्थापनका लागी जनस्तरबाट पटक पटक आवाज उठ्दा समेत सरकारले भने वेवास्ता गर्दै आएको भूकम्प पीडितहरुको आरोप छ ।
भूकम्पबाट थप प्रभावितको सम्भावनामा रहेका उनीहरुलाई सुरक्षित ठाउँमा सारेर स्थानान्तरण गर्नुपर्नेमा सरोकारवाला पक्षले भने चासो नै देखाएको छैन् । दिनँहु भूकम्पको भयमा बाँचिरहेका उनीहरुको मानसिक संतुलनमा समेत समस्या देखिएकोमा हरेक बेला उनीहरुलाई भूकम्प आएको आभास हुने गरेको छ । स्थानीय तहबाट उनीहरुको व्यवस्थापन सम्भव नरहेकोमा नीजी संघ संस्थाको सहयोगमा अस्थायी आवासको व्यवस्था गरेको र बाँकी व्यवस्थापनका लागि पहल जारी रहेको पूर्वीचौकी गाउँपालिकाले जनाएको छ ।
सरकारबाट सुरक्षित आवासको अपेक्षा राख्दै आएका उनीहरुको अवस्था अत्यन्तै दयनीय छ । अस्थायी टहरा र त्रिपाल मुनि बास बसीरहेका उनीहरु दिनरात भूकम्पको भय खप्न बाध्य छन् । तर स्थानीय सरकार भने भूकम्प पीडितको व्यवस्थापनमा चुकेको छ ।



