काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दिपककुमार सालाई पदमुक्त गर्नुभएको छ ।



रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सिफारिसमा साह पदमुक्त भएका हुन् । यसअघि रास्वपा सभापति रवि लामिछानेले मन्त्री साहलाई पदबाट हटाउन प्रधानमन्त्रीलाई पत्र पठाएका थिए । पत्रमा मन्त्री साहले पदीय मर्यादा विपरीत कार्य गर्दै आफ्नी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यमा नियमित गराएको आरोप लगाइएको छ । पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्ययनबाट उक्त विषय पुष्टि भएको दाबी गर्दै रास्वपाले यसले पार्टीको छवि, आदर्श रसिद्धान्तमा आँच पुर्याएको उल्लेख गरेको छ। सोही आधारमा पार्टी विधान अनुसार ‘राइट टू रिकल’ प्रयोग गर्दै साहलाई जिम्मेवारीबाट हटाउन सिफारिस गरिएको हो ।
रास्वपाको पत्रमा यस विषयमा अपेक्षित गम्भीरता नदेखाएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा महेतालाई पनि सचेत गराउन आग्रह गरिएको छ । पार्टीको सिफारिसपछि प्रधानमन्त्री शाहले मन्त्री साहलाई पदमुक्त गर्नुभएको हो । मन्त्री साह पदमुक्त भएपछि उक्त मन्त्रालयको जिम्मेवारी पनि स्वयम् प्रधानमन्त्री शाहले नै सम्हाल्नु हुने बताइएको छ ।



