कान्तिपुरको गेटमा ४५ दिनको धर्नापछि उधारो सहमति गरेर पत्रकार महासंघ भागेपछि त्यहाँ कार्यरत पत्रकारहरुले त्यो सहमति धोका हो भन्दै असन्तुष्टि जाहेर गरेपछि हामीले आन्दोलन जारी राख्यौं । त्यही आन्दोलनमा लामो समयदेखि तलव नपाएका र राजिनामा दिन दबाब आएपछि आफै राजिनामा दिएर तत्कालीन कोषाध्यक्ष कलेन्द्र सेजुवाल, महासंघ केन्द्रीय सदस्य मणि दाहाललगायतका साथीहरु त शुरुदेखि नै राजिनामा दिएर आन्दोलनमा धोका भयो भनेर लागि नै रहे ।
पत्रकार महासंघको महाधिवेशन जारी रहेकाले साहु कैलाश शिरोहियाको दबाबमा मुख्य दलका नेताहरुले महासंघको आन्दोलन उधारो सहमतिमै तुहाइयो । किनकि महासंघको उम्मेदवार बनाउने हैसियत दलनिकट पत्रकार संगठनहरुले गुमाइसकेका थिए, पार्टी अध्यक्ष र सभापतिको निवास नधाई सम्भव थिएन । त्यसमाथि कान्तिपुर आन्दोलनबाट पछाडि हट्न मूख्य नेताहरुले नै आदेश दिएपछि नमान्ने कुरै भएन । महासंघका त्योबेलाका आन्दोलनमा भएका सबै उम्मेदवारका आकांक्षी थिए । नेताहरुको आर्शिवाद नपाउँदा उनीहरुले टिकट पाउन सम्भव थिएन्, अतः कैलाशजीकै दबाबमा नेताहरुले महासंघलाई आन्दोलनबाट फिर्ता गर्न दबाब दिए र उधारो सहमति गर्दै फिर्ता पनि भयो ।
त्यो सहमतिलाई खारेज गर्दै हामीले आन्दोलन जारी राखेपछि आन्दोलन थेग्न नसकेर कान्तिपुरको व्यवस्थापन पक्ष सहमतिका लागि बाध्य भयो । तर हामीले सबै कान्तिपुरकर्मीले न्याय पाउने गरी सहमति हुनुपर्छ भन्ने अडान त लियौं । लुकिछिपी फेरि पनि दलका नेता र महासंघका केही स्वार्थ समुहको डिजाइनमा गोप्य साँठगाँठ भयो सिंहदरबारनजिकैको बसेरा होटलमा । कान्तिपुरका साहुका केही कर्मचारी र महासंघमा चुनाव लड्न टिकटका आकांक्षीहरुबीच भएको सहमतिमा १५ जना हामीसँगै आन्दोलनमा भएका साथीहरुको उपदानस्वरुप वार्षिक ९५ हजार कान्तिपुरले दिने सहमतिपछि त्यो कार्यान्वयन पनि भएन । र, त्यो सहमति सार्वजनिक गर्न माग गर्दै १५ जना पत्रकार साथीहरु धेरै चोटी महासंघ धाए तर अझै सार्वजनिक नगरी सहमति नै गायव बनाएको कान्तिपुरका साथीहरुको आरोप छ । हाल कार्यरत कान्तिपुरकर्मीहरुले उपदानसहित बिदा लिन चाहेका पत्रकारहरुले पनि त्यो सहमति मागेका छन् तर महासंघले नदिई गायव नै बनायो । आखिर सहमति सार्वजनिक नगरी गायव गर्नुपर्ने बाध्यता महासंघलाई किन ? यो प्रश्नभित्र गम्भीर आशंका पैदा भएको छ ।

अहिले कान्तिपुरमा के छ अवस्था ?
– कान्तिपुरका पत्रकार कर्मचारी संयुक्त रुपमा राजीनामाको हस्ताक्षर संकलन गर्ने तयारीका साथ आन्दोलनमा अघि बढने गरी छलफलमा जुटेका छन् ।
– त्यसका लागि के कसरी अगाडि बढ्ने भनेर कान्तिपुर कार्यालय भन्दा बाहिर विभिन्न समूहमा, विभिन्न स्थानमा भेटघाट र छलफल तीब्र हुन थालेको छ ।
– घटनाको विकास क्रम यसरी भएको थियो – फागुन ७ गते बार्षिकोत्सवमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले न्यूनतम पारिश्रमिक लागु गर्ने र सञ्चय कोषको सट्टा सामाजिक सुरक्षा कोषमा जाने घोषणा गरेका थिए ।
तर पत्रकार कर्मचारीले महिनौदेखि तलब पाइरहेका थिएनन्, सन्चय कोषमा पनि नियमित र जम्मा गरिनुपर्ने जति रकम जम्मा गरिने काम भइरहेको थिएन र अझै पनि छैन् । ग्रस तलबमा कर काटेर नेट तलब उपलब्ध गराएपनि करको आवश्यक रकम सरकारी निकायमा दाखिला गरिएको छैन् र पत्रकार कर्मचारीका प्यान नम्बरमा त्यसको सही र प्रष्ट रेकर्ड उल्लेख छैन, जुन छानवीनको बिषय भएको चर्चा पत्रकार कर्मचारीबिच हुँदै आएको छ । दुइ महिनाअघिको तलब पनि अघिल्लो दिन ६ गते साँझ मात्र खातामा पठाइएको थियो, ता कि बार्षिकोत्सवमा विरोध नहोस् भनेर ।
– त्यसयता तलब नपाएपछि न्युजरुमभित्रै एक–आपसमा सरसापट गरी गुजारा गर्दै आएका पत्रकार त्यतिबेला छाँगाबाट खसे जस्तो भए, जतिबेला चैत सकिँदा तलब नपाएको तीन महिना पुग्दै गर्दा माघको तलब कहिले पाइएला भनेर कुरिबसेका बेला चैत १९ गते मंगलबार साँझ एक्कासी मोबाइलमा सामाजिक सुरक्षा कोषमा फागुन महिनाको रकम दाखिला गरिएको म्यासेज आयो । सामाजिक सुरक्षा कोषमा जहिलेदेखि अफिसले रकम दाखिला गर्यो, त्यही मितिदेखि मात्र कोषले जिम्मेवारी वहन गर्छ । त्यसअघि बर्षौदेखि जागिर खाएको र फागुन भन्दा अघि माघ सम्मको पत्रकार कर्मचारीले पाउनुपर्ने लाखौंको हिसाब किताब टुंगो नलगाइ र केवाईसी भर्ने लगायत प्रक्रिया समेत पूरा नगरी के हिसाबले ’जिरो’ बाट जागिर र सेवा सुविधा सुरु हुने गरी कोषमा रकम पठाउन सुरु गरियो भन्ने सवालले छाँगाबाट खसे जस्तो भएका आक्रोशित पत्रकार कर्मचारी जम्मा भएर सम्पादकको खोजी गरी तत्काल बोलाएर म्यासेज आएको केही बेरमै सम्पादक उमेश चौहानलाई घेरेर रयाखरयाख्ती पारेका थिए । सम्पादक चौहानले म्यानेजमेन्टसँग बुझेर तत्काल जवाफ दिने बताए पनि तीन दिनसम्म कुनै जवाफ दिन सकेका छैनन् र तर्की तर्की हिडेका छन् ।
सम्पादकसँगको सवाल जवाफमा पत्रकारले आफूहरुको कुरा प्रष्ट र प्रभावकारी रुपमा म्यानेजमेन्टसँग राख्न र तत्काल माघसम्मको उपदान लगायत सम्पूर्ण सेवा सुविधा उपलब्ध गराउन सचेत गराएका थिए । पत्रकार महासंघ कान्तिपुर शाखाका निवर्तमान र वर्तमान पदाधिकारीलगायत कान्तिपुर तथा द काठमान्डू पोष्टका सिनियर पत्रकारहरुले सेवा सुविधा र उपदानसहित पाउनुपर्ने रकमको हिसाब किताब सहितको खाका समेत प्रस्तुत गरेका थिए । प्रति वर्ष काम गरे वापत साँढे छ महिनाको तलब बराबरले रकम पाउनुपर्ने तथा न्यूनतमका आधारमै टेकेर पाउनुपर्ने सेवा सुविधाको शीर्षक अनुसार जोड्दा पनि कम्तिमा प्रति वर्ष १ लाख ९० हजार १ सय २५ रुपैयाँका दरले गत माघ अघिसम्मको हिसाब किताब तत्काल टुंगाउनुपर्ने अडान राखेका थिए । अघिल्लो बर्ष जागिर छाडेका पत्रकारले कर काटेर कसैले १ लाख २० हजार र कसैले २ लाख रुपियाँ प्रति वर्षका दरले हिसाब गरेर लिएको नजिर सम्पादकलाई स्मरण गराउँदै बिषम परिस्थितिमा समेत कान्तिपुरलाई साथ दिँदै आएका पत्रकारका लागि ती नजिर भन्दा सम्मानजनक हिसाब किताब नपाए स्वीकार्न नसकिने अडानबारे सम्पादकलाई अवगत गराएका थिए । तर सम्पादक भने महासंघले गायव पारेको पुरानो सहमति च्यात्न लागिरहेको जानकारी प्राप्त भएको छ ।
त्यहाँका पत्रकार साथीहरुले सम्पादकलाई आवश्यक परे संयुक्त राजीनामाका लागि हस्ताक्षर संकलन गर्ने र कानुनी लडाइँको प्रक्रियामा अघि समेत बढने बताएका थिए । कोषको कार्यालय मै पुगेर बुझेर समेत आएका पत्रकारले कानुनी लडाइँमा जाँदा अफिसले २०७६ देखि नै पत्रकार कर्मचारीका लागि सामाजिक सुरक्षा कोषमा रकम दाखिला गर्न बाध्य हुनुपर्ने बारे समेत सचेत गराएका थिए ।
पत्रकार कर्मचारी कै रगत पसिनाले अर्बौ चल अचल सम्पत्ति जोडेको कान्तिपुरले तीनै पत्रकार कर्मचारीका बारेमा नसोच्ने र आफूहरुमाथि शोषण गरिरहने हो भने एक ढिक्का भएर पाउनुपर्ने रकम भुक्तानी भएको मितिदेखि मात्र लागु हुने गरी संयुक्त राजीनामा पेस गर्दै कानुनी लडाइँमा उत्रनुपर्ने मत कान्तिपुरका पत्रकारमाझ बलियो बन्दै गएको छ ।
–तलब नियमित नपाएको पीडा भोगिरहेका कान्तिपुरका पत्रकार काम गरेको अवधिदेखि सामाजिक सुरक्षा कोषमा जानु अघिको मिति सम्मको सुविधा नदिइएको र टुंगो नलगाएको म्यानेजमेन्टको रवैयाका कारण मानसिक तनाब बढदा राम्रो सँग काम गर्न सक्ने मनस्थितिमा नरहेको समेत बताउन थालेका छन् ।
आन्दोलित रुपमा अघि बढनु परेमा साथ सहयोग चाहिने भन्दै अहिलेको नयाँ नेतृत्व पत्रकार महासंघ, श्रमजीवी पत्रकार संघलगायत विभिन्न सञ्चार संघ/संगठनहरुसँग समेत कान्तिपुरका पत्रकारले परामर्श गर्न थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय