काभ्रेपलाञ्चोक । पनौतीमा १ हजार ४ सय २१ वर्षदेखि मनाइँदै आइएको हिले जात्रा मनाइँदै छ । तीन दिनसम्म लाग्ने जात्रा परम्पराअनुसार पहिलो दिनसाँझ पुण्यमाता खोलामा नागको प्रतिकका रूपमा दुईवटा बाँस तेस्र्याइने र देवगण (दुइचा न्याकेगू) हरू सुस्तरी तरेपछि विशेष जात्रा सुरु भएको मानिन्छ । राति अबेर भद्रकालीको रथ तानिन्छ भने रातभरि गैडु पूजा (होम गर्ने) गरिन्छ ।

चतुर्दशीका दिन पनौती नगरमा भएका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा धुमधामका साथ पूजा अर्चना गरिन्छ । साथै, इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा अवस्थित महेश्वर गणेशको मूर्तिलाई खटमा राखी अबीर जात्रा गरी नगर परिक्रमा गराइनुका साथै साँझै भद्रकालीको रथ तान्ने र चक्र पूजा समेत गरिन्छ ।

त्यसैगरी जात्राको तेस्रो अर्थात् पूर्णिमाको दिन भद्रकाली, महादेव र इन्द्रेश्वरका तीन वटा रथलाई एकापसमा जुधाइन्छ । जात्राको विधिअनुसार पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रूपधारण गरी कामोत्तेजक भई महादेवलाई लखेट्छिन् । महादेव भने त्रिवेणीमा हामफाली लुक्छन् तर त्यहाँ पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मत्त भैरवको रुपधारण गरी भद्रकालीलाई भगाउँछन् । भाग्ने र पिछा गर्ने कार्यका रूपमा अबिर जात्रा गरी रथ जुधाइने गरिन्छ । लखेट्दै गएर भैरवले चौतर्फी घेराबाट भद्रकालीलाई बीचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन् भने अगाडिबाट आएका इन्द्रेश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन् ।

जात्राको परम्पराअनुसार विशेष पूजामा सामग्री, सुकुन्दा बोकेर कर्माचार्य (आचाजू) हरू सुस्तरी हिँड्नुपर्छ। यो परम्परालाई नेवारी भाषामा न्ह्यायकेगू भन्ने भनिन्छ । कर्माचार्य खोला पारी गोरखनाथ पुगेपछि नाग आसनबाट उठ्ने भएकाले ती नागराजको कृपाले पानी र रोपाइँ सफल हुने जनविश्वास छ । जात्रामा चिउली र केरा खाएर घुम किन्नुपर्ने मान्यता छ । त्रयोदशीदेखि पूर्णिमाको रात रहुञ्जेल मनाइने हिले जात्रा सकिएको भोलिपल्टैदेखि खेतमा गई काम गर्न गर्दछन् । जात्रा सकिएको दिन र चार दिनदेखि पनौतीमा हावाहुरी चल्छ, अनि वर्षा सुरु हुने मान्यता छ । तीन दिनसम्म मनाइने यो जात्रालाई स्थानीय पर्वमध्येको निकै ठुलो जात्राका रूपमा मनाइन्छ ।

जात्रा मनाउन पनौती नगरपालिकाले आज र भोली दुई दिन विदा दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय