पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी भेटिएका छन् । वीरगञ्ज महानगरका अनुसार मुर्ली टोलका ३० भन्दा धेरैमा झाडापखालाको कारणले एकैपटक वीरगञ्जको तराई हस्पिटलमा भर्ना भएका थिए । नारायणी अस्पताल वीरगञ्ज र स्वास्थ्य कार्यालय पर्साको समन्वय गरिएको परीक्षणका क्रममा तीन जना बिरामीमा हैजाको जीवाणु भित्रियो कोलेरा पाइएको थियो ।



वीरगञ्ज महानगर स्वास्थ्य शाखा प्रमुख राजु शाहले तीन जना बिरामीमा हैजाको सङ्क्रमण देखिएकोमध्ये एक जना किशोरको स्वास्थ्य अवस्था गम्भीर रहेको जानकारी दिनुभयो । सङ्क्रमितमध्ये १६ वर्षीय किशोर, २४ वर्षीय युवक र २४ वर्षीय महिला छन् । यस्तै, मुर्ली टोलका घरहरूमा प्रयोग भइरहेको पिउने पानीको नमूना थप परीक्षणका लागि काठमाडौंको टेकुस्थित प्रयोगशालामा पठाइएको छ । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुर विगत १० वर्षपछि वीरगञ्जमा हैजाको प्रकोप देखापरेको बताउनुभयो । महानगरका अनुसार हैजा फैलन नदिन र स्थानीयलाई सर्तक बनाउन शुक्रबार रातिदेख नै स्वास्थ्यकर्मीहरूको टोली घरघरमा पुगेर जनचेतना फैलाउने काम गर्दै आइरहेका छन् ।



