काठमाडौं । साउने सोमबारका दिन पशुपति दर्शन गर्न आउनेलाई निःशुल्क यातायात सुविधा दिइने भएको छ । धर्म, संस्कृतिसँग सम्बन्धित संस्था र यातायात व्यवसायीको सहयोगमा साउन ५ गते पहिलो सोमबारदेखि दर्शनार्थीलाई निःशुल्क यातायातको सुविधा दिन लागिएको हो ।
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सुवासचन्द्र जोशीले सोमबारदेखि चारवटा सार्वजनिक बसले चक्रपथ घुमेर पशुपतिनाथ आउने दर्शनार्थीलाई निःशुल्क सेवा दिन लागिएको जानकारी दिनुभएको छ । यसमध्ये दुईवटा बस गीता प्रेसको नेपालस्थित बुक डिपोले व्यवस्था गरेको र दुईवटा बस यातायात व्यवसायी उच्च राष्ट्रिय महासंघले गरेको छ ।



पशुपतिनाथ दर्शनमा आउने भक्तजनले पहिलो पटक निःशुल्क बस सेवा पाएका हुन् । साउने सोमबारको विहान ३ बजेदेखि नै पशुपतिनाथको चारै ढोका खोलिने भएकोले बस बिहान ४ बजेदेखि नै संचालन गरिने सदस्य सचिव जोशीले जानकारी दिनुभयो ।



