काठमाडौं । राजधानी काठमाडौंको दक्षिण पश्चिम क्षेत्रकै प्रमुख पर्वमध्येको सातगाउँले जात्रा सुरु भएको छ ।
परम्पराअनुसार सातगाउँका शक्तिपीठमध्ये बल्खुकी विष्णुदेवीलाई आमा र मच्छेगाउँ, बोसीगाउँ, सतुंगलका शक्तिपीठ र भैरवलाई उनका सन्तान मानिन्छ । आमालाई भेट्न हरेक वर्ष मङ्सिर शुल्क नवमीका दिन सन्तानहरु आउने विश्वासअनुसार सबै गाउँको रथ बल्खु सम्बद्ध गुठीयार र गाउँले बाजागाजा ल्याउँछ । यात्रा हेर्नका लागि उपत्यकाका सबै ठाउँका नेवार समुदाय बल्खु पुग्ने गर्छन् । सोही दिन कीर्तिपुरमा इन्द्रायणी जात्रा र पाँगाको दुई स्थानमा विष्णुदेवी र बालकुमारी रथयात्रा हुने गर्छ ।



आमा मानिने विष्णुदेवीलाई भेट्न सन्तानहरुबीचमा उछिन पाछिन भएको किंवदन्तीअनुसार रथयात्राको क्रम चल्ने स्थानीय बताउँछन् । भेटघाट सुरु भएको वर्ष क्रमअनुसार जेठी छोरी मानिने मच्छेगाउँकी देवीको रथ पुग्नुपर्नेमा आमा भेट्नका लागि कान्छी छोरी अर्थात् सतुङ्गलकी देवी बिना श्रृङ्गार बल्खु पुगेकी थिइन् र मच्छेगाउँकी देवी भने श्रृङ्गारसहित केहीपछि पुग्दा बहिनी पहिले नै पुगिसकेको देखेपछि आमातर्फ पीठ फर्काएर बाहिरै बसिन् ।
यसैअनुरुप बल्खुमा सतुङ्गलकी देवीको रथ बिना गरगहना पहिल्यै पु-याइन्छ भने मच्छेगाउँकी देवीको रथ मन्दिर बाहिरै पीठ फर्काएर राखिन्छ । रथ पु¥याएपछि दिनभर पूजाआजा गरी पुनः सम्बद्ध गाउँमा जात्रासहित फर्काउने परम्परा रही आएको छ ।
जात्राको प्रमुखस्थल बल्खुको नाम पनि शक्तिपीठसम्बन्धी किंवदन्तीसँग जोडिएको छ । राजधानीको पश्चिममा रहेकी तान्त्रिक देवी ‘लुङ्टीअजिमा’ इन्द्रायणी देवीको पीठमा बाला चतुर्दशीका दिन हवन (होम) गर्दा भँगेरा, सर्प, परेवा, आदिको जोडी हवन गरिएकोमा एक वर्ष हवन गरी चढाएका एक जोडी परेवा बाहिर उडी गएको र तिनै परेवा बसेको ठाउँलाई नै बखु भनिएको हो । यसरी परेवा उडी कीर्तिपुरको पश्चिमतर्फ (हाल बल्खु) तिर गएपछि त्यहाँ परेवा आहुति दिन छोडिएको जनविश्वास छ ।
स्थानीयका अनुसार नेपाल भाषामा ‘बखु’ को अर्थ परेवा हुन्छ । उडेर हराएका परेवा त्यस क्षेत्रमा धेरै समयसम्म खोज्दा पनि भेटाउन नसकिएकाले ‘बखु मदु’ (परेवा नभएको) स्थान भन्न थालियो त्यसको अपभंरस भई हाल यस ठाउँलाई बल्खु भनिएको उनको भनाइ छ । त्यसै स्थानमा वरपरका सबै नेवार बस्तीमा विष्णुदेवी, इन्द्रायणी, ब्रह्मायणी, माहेश्वरी, कुमारी, बाराही, सिंहिनी, ब्याघ्रिनी, गणेश, भैरव, अष्टमात्रिकाको पूजा गरिन्छ ।



