काठमाडौं । पश्चिमी नेपालका विभिन्न भूभागमा आज अपराह्न हिउँ र वर्षा हुने सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम खालको हिउँ र पानी पर्न सक्छ ।

मौसमविदहरूका अनुसार यो प्रणाली अघिल्लो हप्तामा सक्रिय प्रणालीभन्दा कमजोर खालको हो । विभागकी मौसमविद् बिनु महर्जनले जानकारी दिँदै गएरातिदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आकाशमा बादल लागेको बताइन् । उनका अनुसार आज अपरान्हतिर ती क्षेत्रमा हिउँ र वर्षा हुने सम्भावना छ ।

त्यस्तै लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी तथा हिमाली भेगका केही स्थानमा पनि हल्का खालको हिउँ र पानी पर्न सक्ने अनुमान गरिएको छ । सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा हुन सक्ने सम्भावना रहेको मौसमविदहरूले बताएका छन् ।

बागमती र कोशी प्रदेशको तराई क्षेत्रमा भने वर्षाको सम्भावना न्यून रहेको विभागको भनाइ छ । यदि पानी परे पनि थोरै मात्रामा पर्ने अनुमान गरिएको छ । मौसमविद महर्जनका अनुसार बुधबारदेखि मौसम क्रमशः सुधार हुँदै जानेछ ।
माघ महिनामा नेपालमा हिउँ र वर्षा गराउने पश्चिमी न्यूनचापीय प्रणाली तेस्रो पटक प्रवेश गरेको हो । यसअघि माघ ९–१० र १३–१४ गते पनि यस्तै प्रणालीको प्रभावले देशका विभिन्न स्थानमा हिउँ र पानी परेको थियो। तीमध्ये दोस्रो प्रणाली पहिलोभन्दा केही शक्तिशाली रहेको थियो ।

तर माघ २० गतेदेखि प्रभाव देखिन थालेको पछिल्लो प्रणाली भने अघिल्ला प्रणालीको तुलनामा कमजोर रहेको वरिष्ठ मौसमविद बरुण पौडेलले बताए। उनका अनुसार यसपटक अघिल्लो हप्ताजस्तो धेरै हिउँ र वर्षा हुने सम्भावना कम देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय