लगातार वर्षापछि खसेको पहिरोका कारण सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ। पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धबाबा क्षेत्रमा ढुङ्गासहितको पहिरो झरेपछि सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको हो।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पहिरो पन्छाउने काम सुरु गरिएको भए पनि वर्षा जारी रहेकाले तत्काल सडक खुलाउन चुनौती रहेको छ। प्रहरी प्रशासनले यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा मौसम सुधार नहुँदासम्म यात्रा नगर्न आग्रह गरेको छ।



यसैबीच, गएरातिको वर्षासँगै आएको बाढीका कारण अवरुद्ध बनेको बनेपा–सिन्धुली–बर्दिवास (बीपी) राजमार्ग भने पुनः सञ्चालनमा आएको छ। रोशी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएपछि नेपालथोक–भकुण्डेबेसी सडकखण्ड केही समयका लागि बन्द भएको थियो। हाल उक्त सडकखण्डमा सवारी आवागमन सामान्य रूपमा सञ्चालनमा आएको सम्बन्धित निकायले जनाएको छ।



