काठमाडौं । नेपालगञ्ज व्यापारिक चहलपहलका साथै विविध स्वादका लागि पनि परिचित छ । त्यही शहरको चौलिका चोक, महेन्द्र बहुमुखी क्याम्पस नजिकै रहेको सानो पसलले करिब पाँच दशकदेखि हलुवा पराठाको स्वाद पस्कँदै आएको छ । बाजेको पालादेखि सुरु भएको यो व्यवसाय अहिले नातिको पुस्तासम्म आइपुगेको छ, तर स्वाद भने उस्तै रहेको ग्राहकहरू बताउँछन् ।



मैदाबाट तयार पारिने ठूलो आकारको पराठा र सुजीको मीठो हलुवा यस पसलको पहिचान हो । पराठा बनाउँदा दुई हातले तानेर फैलाइने शैली हेर्न नै रोचक हुन्छ । बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खुल्ने पसलमा विद्यार्थी, कर्मचारी, मजदुर र यात्रुहरूको घुइँचो लाग्ने गर्छ । दैनिक करिब ४० किलो मैदाको पराठा र २५ किलो सुजीको हलुवा खपत हुने गरेको सञ्चालक अरमान अली बताउँछन् ।
नेपालगञ्ज मात्र होइन, भारतको रुपैडिहा हुँदै आवतजावत गर्नेहरू पनि यहाँको स्वाद लिन छुटाउँदैनन् । धेरैले आफैं खाएर घरका लागि समेत लैजाने गर्छन् । पुस्तौंदेखि निरन्तरता पाएको यही स्वादले चौलिकाको हलुवा पराठालाई नेपालगञ्जको चिनारी बनाएको छ ।



