काठमाडौं । दुई सातादेखि नेपालगञ्ज डोल्पा हवाई उडान नहुँदा सर्वसाधारणलाई समस्या परेको छ ।
प्रतिकूल मौसमले हवाई मार्ग अवरुद्ध भएपछि उडानमा समस्या भएको हो । दुई सातासम्म पनि हवाई उडान नभएपछि यात्रु र सर्वसाधारणले नेपाल नागरिक उड्डयन प्राधिकरण जुफाललाई उडान नहुनुको दोष लगाएका छन् ।



डोल्पास्थित तारा एयरलाइन्स र समिट एयरलाइन्सका कर्मचारी र नागरिक उड्डयान प्राधिकरण डोल्पाका प्रमुख अमित कुमार चौरासियाबीचको मनमुटावले अनुकूल मौसममा पनि उड्डयन प्राधिकरणले हवाई अनुमति नदिँदा उडान रोकिएको जनगुनासो छ ।
नेपाल नागरिक उडड्यान प्राधिकरण जुफालले भने लगातार मौसममा आएको खराबीकै कारण साउन ५ गतेदेखि नेपालगञ्ज डोल्पा हवाई उडान ठप्प भएको जनाएको छ । नागरिक उड्डयान प्राधिकरण जुफालका प्रमुख अमित कुमार चौरासियाले उडान नहुनुमा अरू कुनै कारण नभई प्रतिकूल मौसम भएको बताउनु भएको छ । समिट एयर जुफालका स्टेसन प्रमुख पूर्णजङ्ग शाहीले पनि प्रतिकूल मौसम नै प्रमुख कारण भएको जानकारी दिनुभयो ।
प्रत्यक्षदर्शीका अनुसार करिब १२ दिनअघि नेपालगञ्ज देखि डोल्पाको लागि उडेको जहाज जुफाल एयरपोर्टमा अवतरण गर्न केही फन्को मार्नु परेको थियोे । जहाज अवतरण भयो पाईलट ओर्लिएर नागरिक उड्डयन प्राधिकरण डोल्पाका प्रमुख टावर हाकिमलाई खराब मौसममा अनुमति दिने भन्दै थर्काए पछि एक आपसमा कनेक्सन टुट्दा सामान्य नागरिकले दुःख पाईरहेको बुझिएको छ । डोल्पामा रहेको जुफाल एयरपोर्ट बिहान ११ बजेसम्म खुल्ने गर्दछ ।



