प्रसिद्ध तीर्थस्थल पाथिभरामा दुई लाख २१ हजार ६०२ जना भक्तजनले तीन करोड पाँच लाख रुपियाँ बढी भेटी चढाएका छन् । २०८१ सालको वैशाखदेखि चैत मसान्त सम्मको अवधिमा आएका दर्शनार्थीले तीन करोड पाँच लाख ५६ हजार १२ रुपियाँ भेटी चढाएका हुन् । पाथीभरा क्षेत्र विकास समितिले पछिल्लो एक वर्षमा दर्शनका लागि आएका तीर्थयात्री र उनीहरूले चढाएको भेटी विवरण सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा बढी गत कार्तिकमा ६१ हजार १७३ जना र सबैभन्दा कम साउनमा एक हजार ९५५ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका थिए । यस्तै गत बैशाखमा ५१ हजार ८०४ जना, जेठमा आठ हजार ३०७, असारमा दुई हजार ७५६, भदौमा नौ हजार ९३९ जना भक्तजन आएको समितिले जनाएको छ । असोजमा पाँच हजार ९४९ जना, मङ्सिरमा २१ हजार १८० जना, पुषमा ६ हजार ४२७, माघमा ४ हजार २४९ जना, फागुनमा ७ हजार ४२८ र चैतमा ४० हजार ४३५ जना दर्शनार्थीहरूले पाथिभरा मन्दिरको दर्शन गरेको समितिले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।



त्यस्तै समितिका अनुसार वैशाखमा सबैभन्दा बढी ६९ लाख ३२ हजार ४००, जेठमा १५ लाख ६५ हजार ९५६ रुपियाँ, असारमा १६ लाख ८८ हजार ९०० रुपियाँ र साउनमा छ लाख ९१ हजार रुपियाँ भेटी सङ्कलन भएको छ । भदौमा ११ लाख ३५ हजार ५५५ रुपियाँ, असोजमा चार लाख ११ हजार १५१ रुपियाँ, कार्तिकमा ३७ लाख ४४ हजार ७५० रुपियाँ, मङ्सिरमा ४१ लाख १७ हजार रुपियाँ, पुसमा २९ लाख २५ हजार रुपियाँ, माघमा १० लाख ४० हजार ३०० रुपियाँ, फागुन महिनामा १३ लाख तीन हजार ५०० रुपियाँ र चैतमा ५० लाख ५०० रुपियाँ भेटी भक्तजनले पाथिभरा मन्दिरमा चढाएको समितिले जनाएको छ ।
समितिले पछिल्लो नौ महिनाको विवरण हरेक महिनाको मसान्तमा र चैत मसान्तमा एक वर्षको तथ्याङ्क सामूहिक रुपमा सार्वजनिक गरेको छ । पाथिभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरूको विवरण पाथिभरा क्षेत्र विकास समितिले हरेक दिन राख्दै आइरहेको छ । त्यस्तै तीर्थयात्रीले चढाएको भेटी प्रहरीको रोहबरमा सङ्कलन गरि लाहा छाप लगाई कार्यालयसम्म ल्याएर गणना गर्ने चलन छ । कार्यालयमा समेत प्रहरी तथा सिसिटिभी क्यामेराको निगरानीमा कर्मचारीले गणना गरि विभिन्न बैङ्कमा जम्मा गर्दै आईरहेका छन् ।

समितिका अनुसार गत वर्षको केही महिना बाढीपहिरो तथा आन्दोलनका घटनाले भक्तजनको सङ्ख्यामा ह्रास आएको छ । गत असारमा आएको बाढी पहिरोले मेची राजमार्गस्थित हेंवाखोलाको मोटरेबल पुल बगाउँदा करिब एक महिना नै असर पुगेको बताइएको छ । त्यस्तै असोज दोश्रो साताको बाढीले समेत दर्शनार्थीको संख्या घटाएको थियो । केबुलकार विवादको आन्दोलनका कारण गत पुष, माघ र फागुनमा अत्यन्तै कम मात्रामा तीर्थयात्री आएका थिए । प्रमुख सिजनहरु मध्येको यी महिनामा यातायात बन्द लगायतको विविध कारणले भक्तजनको सङ्ख्यामा कमी आएको समितिले जनाएको छ । पाथीभरा दर्शनका लागि नेपालका विभिन्न जिल्लाका सहित अन्य मुलुकबाट समेत वार्षिक लाखौँ भक्तजन आईरहेका छन् ।



