ताप्लेजुङ – पाथिभरा केवलकार निर्माणको विवादले थप उग्र रूप लिँदै गएको छ। सद्भाव र्याली निकाल्ने क्रममा आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा १२ जना सुरक्षाकर्मीसहित १३ जना घाइते भएका छन्। जिल्ला प्रशासन कार्यालयका प्रमुख नेत्र प्रसाद शर्मा ले घटनाको पुष्टि गरेका छन्। पाथिभरा केवलकार परियोजना स्थानीय स्तरमा विवादित बन्दै आएको छ। धार्मिक पर्यटन प्रवर्द्धनको नाममा भइरहेको निर्माणप्रति स्थानीय बासिन्दा, धार्मिक संघसंस्था र विभिन्न नागरिक समाजका समूहहरू असन्तुष्ट छन्। उनीहरूले पाथिभरा क्षेत्रको मौलिकता र पर्यावरणीय प्रभाव को विषय उठाउँदै केवलकार निर्माण रोक्नुपर्ने माग गर्दै आएका छन्।



स्थानीयहरूको दाबीअनुसार, पाथिभरा केवलकार परियोजनाले धार्मिक परम्परा, पर्यावरणीय सन्तुलन, र स्थानीय व्यवसायमा प्रत्यक्ष असर पार्ने छ। यसै सन्दर्भमा, विभिन्न चरणमा प्रदर्शन, दबाबमूलक कार्यक्रम र बहसहरू चलिरहेका छन्। केवलकारको समर्थन गर्ने समूहले बिहीबार सद्भाव र्याली निकाल्ने क्रममा आन्दोलनरत समूहले अवरोध गर्ने प्रयास गरेपछि स्थिति तनावपूर्ण बनेको हो। प्रहरीले भीड नियन्त्रण गर्न खोज्दा दुई पक्षबीच हानाहान स्थिति उत्पन्न भएको थियो।
झडपका क्रममा प्रहरीले लाठीचार्ज, अश्रुग्यास र केही स्थानमा बल प्रयोग गरेको थियो। १२ जना प्रहरीसहित १३ जना घाइते भएका छन्। घाइतेमध्ये केहीलाई उपचारका लागि अस्पताल पठाइएको छ। झडपपछि ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले स्थिति नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गरेको छ। प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा ले सबै पक्षलाई संयमित रहन अपील गर्दै, ूस्थानीय विवादलाई कानुनी र संवादमार्फत समाधान गर्न पहल भइरहेकोू बताए।
उनका अनुसार, प्रशासनले सुरक्षा व्यवस्था कडा पार्दै कुनै पनि अप्रिय घटना हुन नदिन निगरानी बढाएको छ। साथै, जिल्ला सुरक्षा समितिले दुवै पक्षसँग छलफल गरी समस्या समाधान गर्ने प्रयास गरिरहेको जानकारी गराइएको छ। आन्दोलनरत पक्षले केवलकार निर्माण स्थगित गर्न माग गरिरहेका छन् भने सरकार र लगानीकर्ता पक्षले धार्मिक पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्रमा योगदान पुर्याउने तर्क राखेका छन्।
हालसम्म, कुनै ठोस निष्कर्ष निस्किन सकेको छैन। तर, निरन्तर चर्किएको विरोध प्रदर्शन र यसले निम्त्याएको झडपले पाथिभरा केवलकार परियोजना अझ विवादास्पद बन्दै गएको छ। आगामी दिनमा स्थानीय प्रशासन, सरकार, आन्दोलनकारी र परियोजना प्रतिनिधिहरूबीच समस्या समाधानका लागि संवाद हुन सक्ने आँकलन गरिएको छ।



