नेपालको प्रमुख धार्मिक स्थल ताप्लेजुङको पाथीभरा देवी मन्दिर अहिले धार्मिक आस्था र विकासको बीचमा तानिएको छ। उच्च पहाडमा रहेको यो पवित्र थलोको दर्शनका लागि कठिन यात्रा तय गर्नुपर्छ। केबलकार निर्माणले यो कठिनाइ हटाउन सक्ने आशा राखिए पनि, स्थानीय संस्कृति, प्रकृति र पहिचानमाथि असर पर्ने चिन्ताले विकास र परम्पराको द्वन्द्व चर्काएको छ।

ताप्लेजुङस्थित पाथीभरा देवी मन्दिर, ३ हजार ७९४ मिटरको उचाइमा रहेको एक प्रमुख धार्मिक तथा पर्यटकीय स्थल हो। यो स्थानले धार्मिक महत्वसहित प्राकृतिक सौन्दर्यको मनोरम दृश्य प्रदान गर्छ। यहाँबाट सगरमाथादेखि कञ्चनजङ्घा हिमशृङ्खलासम्मका आधा दर्जनभन्दा बढी हिमालहरु अवलोकन गर्न सकिन्छ। तर, पछिल्लो समय यो क्षेत्र धार्मिक तथा पर्यटकीय केन्द्रमात्र नभई विवादको केन्द्र पनि बन्दै गएको छ। पाथीभरा मन्दिरसम्म पुग्न फुङलिङ सदरमुकामबाट ८ किलोमिटरको कालोपत्रे र १० किलोमिटरको कच्ची सडक पार गर्दै काफ्लेपाटी पुग्नुपर्छ। त्यसपछि करिब साढे ४ किलोमिटर उकालो पैदल यात्रा गरेर मन्दिर पुग्न सकिन्छ। स्थानीयका लागि यो यात्रा डेढ घण्टाको हो भने, भक्तजनलाई ४ घण्टासम्म लाग्न सक्छ। वृद्धवृद्धा र असहाय बालबालिकाका लागि भरियाहरुको व्यवस्था छ, जसले प्रतिकिलो तौलको आधारमा २०० रुपैयाँ शुल्क लिन्छन्। पाथीभरा दर्शनलाई सहज बनाउन भन्दै पाथीभरा मुक्कुम्लुङ दर्शन केबलकार प्रालिले केबलकार निर्माण कार्य सुरु गरेको छ। तर, सुरुदेखि नै स्थानीय समुदाय र व्यवसायीहरुको एउटा समूहले यसको विरोध गर्दै आएका छन्। आफ्नो पहिचान गुम्ने र प्राकृतिक सुन्दरतामा प्रभाब पर्ने भएकाले केबलकार बनाउनै नहुने उनीहरुको तर्क छ ।

काफ्लेपाटीदेखि माथिल्लो फेदीसम्मका करिब ४० होटल व्यवसायीमध्ये केही केबलकार निर्माणसँग चिन्तित छन्। उनीहरुको मुख्य डर, पैदल यात्रु घट्दा व्यापार घट्न सक्नेमा छ। तर, केही व्यवसायी भने, केबलकारको सुविधा हुँदा पनि पैदल यात्रुहरुको संख्या घट्ने सम्भावना नरहेको विश्वास गर्छन्। केबलकारको निर्माणले जिल्लाको मात्र नभई कोशी प्रदेशकै समृद्धिको ढोका खुल्ने कतिपयले तर्क गर्छन् । केबलकार बने जिल्लामा जनघनत्व बढ्ने र साना तथा ठुला व्यापारी मात्र नभएर होटल व्यवसायी र कृषकलाई समेत लाभ मिल्ने बिश्वास व्यापारीको छ ।

केबलकारले बिकृति भित्र्याउने चर्चा चलिरहेको बेला स्थानीय तहले भने बिकासको रुपमा लिएका छन् । स्थानीय सरकारले बिकासको कामलाई कुनै पनि हालतमा नरोक्न आग्रह गर्दै आफ्नो मागलाई लिएर भावी सन्ततीको लागि सोच्न आग्रह गर्दै आईरहेको छ । पाथीभराको धार्मिक महिमा र प्राकृतिक सौन्दर्यको संरक्षण गर्दै, स्थानीय व्यवसाय र समुदायलाई सन्तुलित ढंगले फाइदा हुने दीर्घकालीन समाधान निकाल्नु अहिलेको प्रमुख चुनौती हो। ताप्लेजुङका नागरिकले यो विवादले धार्मिक र पर्यटकीय गन्तव्यको रुपमा पाथीभराको प्रतिष्ठालाई असर पुर्‍याउने भन्दै चिन्ता व्यक्त गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय