ताप्लेजुङ, चैत्र ७ गते । तीन हजार ७९४ मिटर उचाइमा रहेको ताप्लेजुङको पाथीभरामा यस वर्षकै सबैभन्दा बढी हिमपात भएको छ ।पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी तथा स्थानीय राजेन्द्र महतका अनुसार यस वर्ष पाथीभरामा नवौँ पटक हिमपात भएको हो । उहाँका अनुसार यसअघि सामान्य रुपमा पटक पटक हिमपात भएको थियो ।

साताको मङ्गलबार र शनिबार अन्य बारको तुलनामा बढी तीर्थयात्रीहरू मन्दिर दर्शनका लागि पुग्ने गरेका छन् । सोही अनुसार आज शनिबार भएकाले बिहानैदेखि दर्शन गर्ने भक्तजनको समेत घुइँचो लागेको महतले जानकारी दिनुभयो ।

हिमपात भएपनि पाथीभरा दर्शन गर्न जानुहुने तीर्थयात्रीलाई भने प्रभाव नपरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिका अनुसार पाथिभराबाट करिब दुई किलो मिटर पदमार्गमा फाइवरको छानो लगाएकाले हिमपात भए पनि तीर्थयात्रीहरू सहजै पाथीभारधामसम्म जान सक्नेछन् ।

विगतमा भने हिमपात हुँदा बाटो चिप्लने, पदमार्ग नै हिउँले पुरेर नदेखिने हैरानी खेप्न परेको थियो । तर समितिले पदमार्गमा फाइबरको छानो लगाएसँगै हिमपात तथा पानी पर्दा समेत तीर्थयात्रीलाई सहज भएको दर्शनार्थीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय