ताप्लेजुङ । पाथीभरा मन्दिरतर्फ गइरहेको बोलेरो जिपमा करेन्ट लागेर चार जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। दुर्घटना ताप्लेजुङको फुङलिङ नगरपालिका–१० स्थित सेवारो चोकमा सोमबार भएको हो।
सदरमुकाम फुङलिङबाट तीर्थयात्री बोकेर पाथीभरा जाँदै गरेको बा १ च ३०११ नम्बरको बोलेरो जिप बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर करेन्ट लागेको हो। करेन्ट लागेपछि जिपमा आगो समेत लागेको प्रहरीले जनाएको छ।



दुर्घटनामा परी ज्यान गुमाउनेमा:
- ललितपुर महानगरपालिका–१० की १६ वर्षीया आध्या आचार्य
- झापा भद्रपुर–१५ निवासी ७० वर्षीय विनोद पौडेल
- उनीकी श्रीमती ६९ वर्षीया सरिता पौडेल
- जिप चालक फुङलिङ नगरपालिका–१० का ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन्।
घाइते हुनेमा:
- ललितपुर महानगरपालिका–१० की ४५ वर्षीया सबिना आचार्य
- उनका १० वर्षीय छोरा भबिमय आचार्य रहेका छन्।
प्रहरीका अनुसार घाइते आचार्य आमा–छोरा खतरामुक्त छन् र थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।
स्थानीय प्रशासनले घटनाको अनुसन्धान सुरु गरिसकेको जनाएको छ। बिजुलीको तार लत्रिएको अवस्थाबारे सार्वजनिक संस्थाको लापरवाहीको आशंका गरिएको छ।



