ताप्लेजुङ — ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा भेटी संकलन उल्लेख्य रूपमा वृद्धि भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा चार करोड ८२ लाख तीन हजार ८ सय ५५ रुपैयाँ नगद भेटी संकलन भएको छ।
आर्थिक वर्ष २०८१/०८२ मा तीन करोड ११ लाख ६४ हजार ६७६ रुपैयाँ भेटी संकलन भएको थियो। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा एक करोड ७० लाख ३९ हजार रुपैयाँभन्दा बढी भेटी संकलन भएको समितिले जनाएको छ।



समितिका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा वैशाख महिनामा सबैभन्दा धेरै भेटी संकलन भएको छ। वैशाखमा मात्रै एक करोड ६ लाख २८ हजार रुपैयाँ भेटी जम्मा भएको थियो भने भदौ महिनामा सबैभन्दा कम ९ लाख ९७ हजार रुपैयाँ संकलन भएको थियो।
गत आर्थिक वर्षमा पाथीभरा दर्शन गर्ने तीर्थयात्रीको संख्या पनि बढेको छ। आर्थिक वर्ष २०८१/०८२ मा दुई लाख ३१ हजार ३३४ जना भक्तजनले दर्शन गरेका थिए भने २०८२/०८३ मा यो संख्या बढेर दुई लाख ५२ हजार ७८ पुगेको छ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले भक्तजन वृद्धिका लागि गरिएको प्रचारप्रसार, तीर्थयात्रीको संख्या बढ्नु तथा विगतदेखि भण्डारणमा रहेका विदेशी सिक्का नगद सटही गरिएकाले भेटी रकम वृद्धि भएको बताउनुभयो।
समितिले मन्दिरमा दर्शनार्थीले चढाएको नगद भेटीको विवरण मात्र सार्वजनिक गरेको हो। सुनचाँदी, घण्टी, त्रिशुल, तामा, सिक्कालगायत अन्य जिन्सी सामग्री भने अझै भण्डारणमा रहेको समितिले जनाएको छ।



