काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकताबद्ध राख्न आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताउनुभएको छ । आफू निकट केन्द्रीय सदस्य, जिल्ला सभापति र वरिष्ठ अधिवक्ताहरूसँगको छलफलमा उहाँले पार्टीलाई फुटबाट जोगाउन ‘विष पिउन’ समेत तयार रहेको बताउनुभयो ।

नेता कोइरालाले आफूले सभापति, कार्यवाहक सभापति तथा महामन्त्रीहरूसँग पार्टी कुनै पनि हालतमा फुट्न दिनु हुँदैन भनेर निरन्तर संवाद गरिरहेको पनि बताउनुभयो । छलफलमा सहभागी कानुन व्यवसायीहरूले महामन्त्रीहरूले बोलाएको विशेष महाधिवेशन वैधानिक नभएको तर्क गरे । कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्य समितिलाई मात्र भएको भन्दै उनीहरूले अहिलेको प्रक्रियाबाट नेतृत्व परिवर्तन गर्न नमिल्ने कानुनी राय दिएका थिए ।

भेलामा सहभागी नेता तथा कार्यकर्ताहरूले पार्टीलाई फुटबाट जोगाउन दुवै पक्षसँग सहजीकरण गरी कांग्रेसलाई एकताबद्ध बनाउन कोइरालालाई सुझाव दिए । छलफलमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, मिनेन्द्र रिजाललगायत सहभागी थिए । त्यस्तै, वरिष्ठ अधिवक्ताहरू शेरबहादुर केसी, योगेन्द्र अधिकारी, उपेन्द्रकेशरी न्यौपाने लगायतको पनि उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय