राजविराज नगरपालिकाको गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएका एक किशोरको उपचार खर्च पाउन नसकेपछि पीडित परिवारले नगरपालिका कार्यालयमै तालाबन्दी गरेका छन्। तालाबन्दीका कारण कार्यवाहक नगरप्रमुख इसरत परविनसहित कर्मचारी र जनप्रतिनिधिहरू कार्यालयमै थुनिएका छन्।

२०७९ माघ १ गते सप्तरीको बोदेबरसाइनमा भएको उक्त दुर्घटनामा १६ वर्षीय राजेशकुमार यादव गम्भीर घाइते भएका थिए। त्यही गाडीको ठक्करबाट अर्का युवक अजितकुमार यादव पनि घाइते भएका थिए। अजित उपचारपछि घर फर्किए पनि राजेशको अवस्था अझै गम्भीर छ।

दुर्घटनापछि विराटनगरस्थित एक अस्पतालमा राजेशको ९० दिनसम्म आइसियुमा उपचार भयो। हाल उनलाई सामान्य होस त आएको छ, तर अस्पतालमै बन्धक छन्, किनभने उपचार खर्च तिर्न सकिएको छैन। परिवारका अनुसार, अहिलेसम्म करिब १० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ, तर नगरपालिकाले कुनै खर्च व्यहोरेको छैन।

पीडित पक्षले पटक–पटक आन्दोलन गरे पनि स्थानीय सरकारको तर्फबाट आश्वासन बाहेक ठोस सहयोग प्राप्त भएको छैन। यही कारण आज बिहानदेखि पीडित परिवार र स्थानीयवासीले नगरपालिका कार्यालयको मुख्य गेटमा धर्ना दिएका छन्। उनीहरूले कार्यालयमा तालाबन्दी गर्दा कार्यवाहक प्रमुख इसरत परविनसहित अन्य कर्मचारी भित्रै थुनिएका छन्।

पीडित पक्षले भनेका छन्, “राजेशको जीवन जोगाउन हामीले सम्पत्ति समेत बेच्यौं, अझै अस्पतालको बक्यौता तिर्न सकेका छैनौं। नगरपालिका जिम्मेवार हुनुपर्ने हो, तर यहाँ पीडितको पीडामाथि राजनीति मात्र भइरहेको छ।” घटनाबारे स्थानीय प्रशासन भने मौन रहेको छ। नगरपालिकाले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय