काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आज ४७ औं स्मृति दिवस । नेपालका कम्युनिष्ट पार्टीहरुले आज देशभरी नै स्मृति दिवस मनाउँदै छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत् पुष्पलालप्रति सम्मान व्यक्त गर्नुभएको छ ।
यसैगरी, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ नेपालीले कहिल्यै पनि बिर्सन नसक्ने पात्रका रूपमा रहेको बताउनुभएको छ । पुष्पलाल स्मृति दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन र नेपाली समाजको रूपान्तरणका लागि पुष्पलालले सुरु गरेको यात्रा अहिले विभिन्न प्रकारले विस्तारित भइरहेको उल्लेख गर्नुभएको छ ।
वि.सं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिनुभएका पुष्पलालले नै कार्लमाक्र्स र फेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट मेनिफेस्टो’ (कम्युनिस्ट पार्टीको घोषणापत्र, सन् १८४८) को पहिलोपटक नेपाली भाषामा अनुवाद गर्नुभएको थियो ।



पुष्पलालकै नेतृत्वमा नेपालमा पहिलोपटक २००६ वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भएको हो । पुष्पलाल नेकपाका संस्थापक महासचिव हुनुहुन्थ्यो । उहाँको २०३५ साउन ७ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।
पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपा एमाले चन्द्रागिरि नगर कमिटीले चन्द्रागिरि नगरपालिका वडा नं. ३ स्थित लगलगे पाखामा बृक्षारोपण गरेको छ । बृक्षारोपण कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठ, नेकपा एमाले चन्द्रागिरि नगर कमिटीका अध्यक्ष उत्तम बहादुृर राउतलगायत विभिन्न नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।



