काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई लक्षित गरी आयोगका पूर्वपदाधिकारी र पूर्वसचिवसँग परामर्श गरेको छ । कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालयमा आगामी निर्वाचनलाई स्वच्छ, स्वन्तन्त्र, निष्पक्ष, भयरहित र मितव्ययी तुल्याउन विगतका अनुभव प्राप्त गर्ने उद्देश्यले पूर्वपदाधिकारीहरुसँग परामर्श गरेको हो । जेनजी आन्दोलनको भावनाअनुरूप चुनावी अन्तरिम सरकार गठन भई आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । यस्तै १९ सदस्य पदका लागि आगामी माघ ११ राष्ट्रियसभाको निर्वाचन हुँदैछ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको अध्यक्षतामा भएको परामर्शमा आयुक्तद्वय सगुनशम्शेर जबरा र डा जानकी तुलाधर, पूर्वप्रमुख निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, नीलकण्ठ उप्रेती, दोलखबहादुर गुरुङलगायत र आयोगका पूर्वसचिवहरू मधु रेग्मी, भरतमणि सुवेदी, सुरेश अधिकारी, रविराज पन्तलगायत सहभागी छन् ।



निर्वाचन आयोगमा हालसम्म १२५ दल दर्ता भएका छन् । केही दल दर्ताका प्रक्रियामा रहेको आयोगले जनाएको छ । चालु आवमा नयाँ तीन दल दर्ता भएका छन् । प्रतिनिधिसभाको निर्वाचनका लागि अनुकूल वातावरण निर्माणका लागि आयोगले खेल्नुपर्ने भूमिका र ध्यान दिनुपर्ने विषय, निर्वाचन आचारसंहितको प्रभावकारी कार्यान्वयनका लागि चाल्नुपर्ने कदम विषयमा छलफलबाट महत्त्वपूर्ण सुझाव प्राप्त हुने आयोगको अपेक्षा छ ।



