पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमालेका कार्यकर्ताहरूले राजधानीका सडकमा विरोध प्रदर्शन सुरु गरेका छन्।एमाले कार्यकर्ताले च्यासलस्थित केन्द्रीय कार्यालय नजिक जेनजी आन्दोलनको जाँचबुझ आयोगको प्रतिवेदनको प्रति बालेर विरोध जनाएका छन्। विरोधका क्रममा प्रहरीको उपस्थिती न्यून रहेको छ। कार्यकर्ताहरूले पत्रकारहरूमाथि धम्कीपूर्ण भाषा समेत प्रयोग गरेका छन्। उनका अनुसार, “देश जल्दा कहाँ थियौ ? अहिले किन खिच्या ? ब्याक हौ।”
जाँचबुझ आयोग सुशीला कार्की नेतृत्वमा गठन गरिएको थियो भने आयोगको प्रतिवेदन गौरीबहादुर कार्कीको नेतृत्वमा तयार गरिएको थियो। हालको बालेन नेतृत्वको सरकारले हिजो उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेलगत्तै पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउको प्रक्रिया सुरु गरिएको थियो। एमालेले शनिबार बिहान पक्राउ कार्यान्वयन भएपछि देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ।






