काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली समाजमा विद्यमान धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावलाई कायम राख्न सबै नेपालीलाई एकताबद्ध हुन आग्रह गरेका छन् ।
आज एक सद्भाव सन्देश जारी गर्दै शाहले नेपाल निर्माणको सुरुवातदेखि नै विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिका नेपालीहरू आपसी मेलमिलाप, प्रेम र सहिष्णुताका साथ बस्दै आएको उल्लेख गरेका छन् । यही विविधतायुक्त पहिचान नेपालका गौरव र सम्मानको आधार भएको भन्दै यसमा कुनै पनि प्रकारको खलल पर्न नदिन सबैले जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ ।




सन्देशमा केही दिनअघि सुनसरी जिल्लाका केही गाउँबस्तीमा भएको आपसी द्वन्द्व र विवादका कारण जनधनको क्षति भएको तथा त्यसको असर कोशी क्षेत्र र तराईका विभिन्न स्थानसम्म पुगेको घटनाप्रति दुःख व्यक्त गरिएको छ । यस्ता घटनाले नेपाली समाजको मौलिक मूल्य, सामाजिक सद्भाव र सहअस्तित्वको भावनामा आघात पुग्ने उल्लेख गर्दै उनले यस्ता गतिविधि दोहोरिन नदिन सबै पक्ष संयमित हुनुपर्ने बताएका छन् ।
पूर्वराजा शाहले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले सबै समुदायबीच आपसी सम्मान, सहिष्णुता र विश्वास कायम राख्नु आजको प्रमुख आवश्यकता भएको उल्लेख गरेका छन् । देशको जुनसुकै भूभागमा बसोबास गर्ने नेपालीहरूबीच राष्ट्रिय एकता र सामाजिक सद्भावलाई बलियो बनाउन उनले सबैलाई आह्वान गरेका छन् । राष्ट्रिय एकता, शान्ति र आपसी सद्भाव कायम राख्न सबै नेपालीलाई सकारात्मक भूमिका निर्वाह गर्न पनि आग्रह गरेका छन् ।



