नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा प्रवेश गर्नु नहुने आफ्नो धारणा पुनः दोहोर्याएका छन्। महाधिवेशनअघि सम्पादकहरूसँग बिहीबार भएको छलफलमा ओलीले सेरेमोनियल भूमिकाबाट अवकाश लिएका व्यक्तिले दलीय राजनीति र विवादमा संलग्न हुनु उचित नहुने बताए।ओलीले भने, “पूर्वराष्ट्रपतिजी दलीय राजनीतिमा र खिचातानीमा आउनु हुँदैन। सम्मानित र सेरेमोनियल भूमिकामा बस्नुपर्छ। अनावश्यक विवाद र आलोचनामा नतानिनु राम्रो हुन्छ।”
उनका अनुसार विद्यादेवी भण्डारीले हाल सक्रिय राजनीतिमा प्रवेश नगरी मदन भण्डारी फाउन्डेसन सञ्चालनमा ध्यान केन्द्रित गरिरहेकी छन्। फाउन्डेसनको कार्यालय कसैले सघन रूपमा प्रयोग गर्नु बेग्लै विषय भए पनि भण्डारीले राजनीतिक सक्रियता लिनु उचित नहुने ओलीको तर्क छ।






