काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं–नागढुंगा सुरुङमार्ग आयोजनाको स्थलगत अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा उहाँले सुरुङमार्गको हालसम्मको प्रगति, निर्माणको अवस्था तथा पूर्णसञ्चालन कहिलेदेखि सम्भव हुन्छ भन्ने विषयमा आयोजनाका जिम्मेवार अधिकारीसँग जानकारी लिएको उहाँको सचिवालयले जनाएको छ ।



अवलोकनका क्रममा पूर्व राष्ट्रपति भण्डारीलाई आयोजनाका प्रमुख तथा प्राविधिक टोलीले सुरुङमार्ग निर्माणको प्रगति विवरण प्रस्तुत गरेका थिए । उनीहरूले सुरुङ खन्ने कार्य, संरचनागत काम, सुरक्षा प्रणाली, विद्युत् तथा भेन्टिलेसन व्यवस्थालगायतका विषयमा जानकारी गराएका थिए ।
पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नागढुंगा सुरुङमार्ग समयमै सम्पन्न हुनुपर्नेमा जोड दिँदै यसले काठमाडौं उपत्यकाको यातायात व्यवस्थापनमा ठूलो राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले निर्माण कार्यमा देखिने चुनौती समाधान गर्दै गुणस्तर र सुरक्षालाई विशेष ध्यान दिन आग्रहसमेत गर्नुभयो ।
काठमाडौं र धादिङ जिल्लालाई जोड्ने यो सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगा नाकामा हुने सवारी जाम न्यूनीकरण हुनुका साथै यात्रा समयसमेत उल्लेख्य रूपमा घट्ने अपेक्षा गरिएको छ । आयोजनाले पूर्ण सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको र बाँकी काम तीव्र रूपमा अघि बढिरहेको जानकारी गराइएको छ ।
सरकारको प्राथमिकतामा रहेको यस आयोजनाले राजधानी प्रवेशद्वारलाई सहज, सुरक्षित र आधुनिक बनाउने लक्ष्य लिएको छ ।



