काठमाडौं । नेपालको राष्ट्रिय गौरव आयोजना अन्तर्गत निर्माण सम्पन्न भएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग यही साउन ११ गते औपचारिक रूपमा उद्घाटन भई परीक्षण सञ्चालनमा आउने भएको छ । नेपालकै पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको यस परियोजनालाई देशको पूर्वाधार विकास इतिहासमा एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

करिब २.६८८ किलोमिटर लामो मुख्य सुरुङ रहेको यस आयोजनाले काठमाडौं उपत्यकाको पश्चिमी प्रवेशद्वार नागढुंगा क्षेत्रमा वर्षौंदेखि देखिँदै आएको सवारी चाप र ट्राफिक जामको समस्या न्यूनीकरण गर्ने विश्वास गरिएको छ । सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं–धादिङ मार्ग हुँदै आवतजावत गर्ने हजारौं यात्रु तथा मालवाहक सवारीसाधनलाई सहज, सुरक्षित र छिटो यात्रा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यस परियोजनाले यात्रा समय उल्लेखनीय रूपमा घटाउनुका साथै इन्धनको खपत कम गर्ने, सवारी सञ्चालन खर्च घटाउने तथा वातावरणीय प्रदूषण न्यूनीकरणमा समेत सकारात्मक प्रभाव पार्ने देखिन्छ । साथै राजधानीलाई देशका विभिन्न जिल्लासँग जोड्ने मुख्य प्रवेशमार्ग अझ व्यवस्थित र भरपर्दो बन्ने अपेक्षा गरिएको छ ।

पर्यटन, व्यापार तथा लगानी प्रवद्र्धनका दृष्टिले पनि सुरुङमार्ग महत्वपूर्ण मानिएको छ । सहज यातायात पहुँचका कारण चन्द्रागिरि क्षेत्रसहित आसपासका पर्यटकीय तथा व्यावसायिक गतिविधिमा थप विस्तार हुने विश्वास गरिएको छ । यसबाट स्थानीय व्यवसायी, उद्योगी तथा सर्वसाधारण प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।

सुरुङमार्ग सञ्चालनमा आएपछि चन्द्रागिरि क्षेत्रको विकासले थप गति लिने, लगानी आकर्षित हुने, रोजगारीका अवसर सिर्जना हुने तथा स्थानीय उत्पादन र व्यापार प्रवद्र्धनमा समेत टेवा पुग्नेछ ।

लामो समयदेखि प्रतीक्षामा रहेको यो राष्ट्रिय गौरव आयोजना परीक्षण सञ्चालनमा आउन लागेसँगै सर्वसाधारणमा पनि उत्साह बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय