काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाबाट प्रभावित स्थानीय खानेपानी आयोजनाको संचालन, मर्मतसम्भार तथा दीर्घकालीन व्यवस्थापन सुनिश्चित गर्न पूर्वाधार विकास मन्त्रालयले ११ बुँदे निर्णय गरेको छ ।
पूर्वाधार विकास मन्त्री सुनील लम्सालको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले भोगिरहेका खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायबीच समन्वयात्मक ढंगले काम अघि बढाउने निर्णय गरेको हो ।



बैठकले सुरुङमार्ग निर्माणका क्रममा प्रभावित भएका वडा नं. १ र २ का स्थानीय बासिन्दाका लागि निर्माण गरिएका खानेपानी आयोजनालाई तत्काल संचालनमा ल्याउन आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । यसका लागि निर्माण सम्पन्न भइसकेका संरचनाको परीक्षण, आवश्यक मर्मत तथा संचालन व्यवस्थापनलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ ।
निर्णयमा आयोजनासँग सम्बन्धित संरचनाको प्राविधिक परीक्षण गरी देखिएका समस्या तत्काल समाधान गरिने र आवश्यक स्थानमा पाइपलाइन, रिजभ्र्वायर, पम्प तथा अन्य संरचनाको मर्मत तथा स्तरोन्नति गरी नियमित रूपमा स्वच्छ खानेपानी उपलब्ध गराउने व्यवस्था मिलाइने छ ।

त्यसैगरी, आयोजना हस्तान्तरण प्रक्रिया शीघ्र सम्पन्न गर्ने, सञ्चालन तथा मर्मतसम्भारका लागि सम्बन्धित निकायको जिम्मेवारी स्पष्ट गर्ने तथा आवश्यक बजेट व्यवस्थापनका लागि सम्बन्धित निकायबीच समन्वय गर्ने निर्णय समेत बैठकले गरेको छ ।
बैठकले चन्द्रागिरि नगरपालिकाको समन्वयमा उपभोक्ता समिति, आयोजना र सम्बन्धित सरकारी निकायबीच नियमित सहकार्य गर्दै देखिएका प्राविधिक तथा व्यवस्थापकीय समस्या समाधान गर्न जोड दिएको छ ।
बैठकमा मन्त्रालयका सचिवहरू, सडक विभाग, खानेपानी तथा ढल व्यवस्थापन विभाग, नागढुंगा सुरुङमार्ग निर्माण आयोजना, चन्द्रागिरि नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हरिश्याम रानामगर, वडा सदस्य कविराज खड्का रहेका छन् भने वडा नम्बर २ का कार्यबहाक वडा अध्यक्ष चन्द्रकुमार गिरी बस्नेत, वडा सदस्य लवराम सुवेदी, नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उपभोक्ता खानेपानी समितिका अध्यक्ष गोपी सुर्खेती, सचिव हरि भुर्तेल र सदस्य नन्दकुमार सुवेदी रहेका छन् ।
त्यस्तै सीमधर दहचोक खानेपानी उपभोक्ता समितिका अध्यक्ष राम थापा र सचिव गणेश दुवाडीलगायतको उपस्थिति रहेको थियो ।



