पोखराको सेदीमा घर भाडामा लिएर अवैध रूपमा अनलाइन सट्टेबाजी गराउने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले २६ असार बिहान ८ बजे पोखरा महानगरपालिका वडा नम्बर १८ स्थित सेदीबाट उनीहरूलाई नियन्त्रण पछि सार्वजनिक गरेको छ ।
गोप्य सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले पोखरा–१८ सेदीमा स्थानीय जीवन श्रेष्ठको घरमा छापा मारेको थियो । सफ्टवेयरको काम गर्ने बहानामा ७ वटा कोठा भाडामा लिएर उनीहरूले अनलाइन गेम र सट्टेबाजी (बेटिङ) गराइरहेका थिए । पक्राउ पर्नेमा भारतको भुपा मानपुरका ३४ वर्षका सत्यम सिंह रहेका छन् । उनलाई प्रहरीले सट्टेबाजी खेलाउने मुख्य व्यक्तिका रूपमा पहिचान गरेको छ । यस्तै भारतकै २४ वर्षका हर्ष उसरेटे, २३ वर्षका विशाल चाउ, २२ वर्षका जमान सिंह तमार, २७ वर्षका विक्रान सिंह, २६ वर्षका अजितेश कुमार मिश्र र २४ वर्षका सत्यम राजपूत पक्राउ परेका छन् । दार्चुलाका ३१ वर्षका दिनेश सिंह बोहोरालाई पनि प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा खानतलासी गर्दा अनलाइन सट्टेबाजी भइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बिरेन्द्रकुमार पासवानले जानकारी दिए ।



पक्राउ परेकाहरूमाथि थप अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । उनीहरूले १८ चैत २०८२ देखि घर भाडामा लिएर यो काम गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।प्रहरीले घटनास्थलबाट ठूलो परिमाणमा विद्युतीय उपकरण बरामद गरेको छ । जसमा विभिन्न कम्पनीका ७ थान ल्यापटप, ६ थान मनिटर र ३१ थान मोबाइल रहेका छन् । यस्तै ९ थान किबोर्ड, ४ थान मल्टिप्लग, १ थान १२ भोल्टको व्याट्री र १ थान युपिएस पनि फेला परेको छ । गिरोहले प्रयोग गर्ने २ थान राउटर, १६ थान चार्जर र ३४ थान भारतीय सिमकार्ड पनि बरामद भएको छ ।
अनुसन्धानका क्रममा यो गिरोहले टेलिग्राम र ह्वाट्सएप मार्फत ‘गुरुभाइ २४७ डट प्रो’ नामको लिंक पठाउने गरेको फेला परेको छ । उनीहरूले मानिसहरूलाई सोही लिंकमा पैसा जम्मा गर्न लगाएर रजिष्ट्रेशन गराउँथे । त्यसपछि क्रिकेट, फुटबल र क्यासिनो जस्ता खेलमा सट्टेबाजी गराउने गरेका थिए । खेल जितेका व्यक्तिहरूलाई अनलाइनबाटै रकम जम्मा गरिदिने गरेको प्रहरीले बताएको छ ।
यो गिरोहले दैनिक ३ देखि ४ लाख भारतीय रुपैयाँसम्म कमाउने गरेको खुलेको छ । यो सञ्चालनको मुख्य केन्द्र भारतमा रहेको र यो २७ औँ ब्रान्चका रूपमा पोखरामा सञ्चालन भइरहेको पाइएको छ । त्यहाँ काम गर्ने एक जनाले महिनाको २५ हजार भारतीय रुपैयाँ पारिश्रमिक पाउने गरेका थिए । अनलाइनबाट रकम भुक्तानी र जम्मा गर्न उनीहरूले भारतीय नागरिकका बैंक खाताहरू भाडामा प्रयोग गर्ने गरेको देखिएको छ ।प्रहरीले बरामद गरेका ३ वटा कम्प्युटरका सिटहरूमा २० करोड भन्दा बढि रहकम रकमको कारोबार भएको विवरण भेटिएको छ । घटनाको प्रकृति हेर्दा यसमा अन्तरदेशीय गिरोहको संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ । पोखरामा पछिल्लो समय प्रविधिको प्रयोग गरी हुने यस्ता अपराधहरू बढ्दै गएका छन् । उनीहरूले प्रयोग गरेका सबै उपकरण र खाताहरूको थप प्राविधिक विश्लेषण भइरहेको प्रहरीले जनाएको छ ।



