काठमडौं । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराका पाँच ठाउँमा ‘स्वीप अप्रेशन’ चलाएको छ । सो अप्रेशनका क्रममा अवैध गतिविधि गर्ने १ सय २२ जनालाई नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ ।



रातको समयमा होहल्ला गर्ने, सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याउने, गाँजालगायत अवैध लागुऔषध सेवन गर्नेलाई नियन्त्रणमा लिइएको कार्यालयले जानकारी दिएको छ । पक्राउ परेकामध्ये ८२ जनाले लागुऔषध सेवन गरेको, केहीको साथमा गाँजासमेत फेला परेको प्रहरीले जनाएको छ । बैदाम, रामबजार, शिशुवा, बगर र जिल्ला प्रहरी कार्यालय रहेको क्षेत्रमा एकैसाथ स्वीप अप्रेशन सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
बैदाम क्षेत्रबाट ३९ जना, राजबजार क्षेत्रबाट ४० जना, शिशुवाबाट २० जना, बगरबाट १२ जना र जिप्रका आसपासबाट ११ जनालाई पक्राउ गरिएको बताइएको छ । पक्राउ पर्ने सबै पुरुष र त्यसमध्ये अधिकांश युवा उमेर समूहका रहेको र केही दिनअघि लेकसाइड क्षेत्रमा पर्यटकलाई दुःख दिने र ठगी गर्ने महिलाहरुलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।



