पोखरा महानगरपालिका–९, पृथ्वीचोकमा नवनिर्मित ‘पोखरा घर’को उद्घाटन गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङले संयुक्त रुपमा शुक्रवार आयोजित एक समारोहका बीच उक्त ‘पोखरा घर’को समुद्घाटन गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आचार्यले स्थानीय स्तरमा उत्पादित मौलिक सामग्रीहरूको प्रदर्शन तथा विक्री वितरणका लागि यो एउटा साझा थलो बन्ने बताए ।

पोखराको समग्र साहित्य, कला, सङ्गीत, संस्कृति र पर्यटकीय गतिविधिहरूलाई एकै स्थानबाट संरक्षण, विकास र प्रवर्धन गर्ने उद्देश्यका बहुउद्देश्यीय केन्द्र ‘पोखरा घर’ निर्माण गरिएको हो । विशेषगरी पोखरा भ्रमणमा आउने पर्यटकहरूलाई लक्षित गरी सञ्चालनमा ल्याइएको यस कोसेली घरले स्थानीय हस्तकला र घरेलु उत्पादनहरूलाई प्रोत्साहन दिने उद्देश्य राखेको छ । भवनको भूमिगत तलामा पार्किङको व्यवस्था गरिएको भने भुइँतलामा कोसेली घर, सूचना केन्द्र, सशुल्क स्नानघर र शौचालय छन् । स्नानघरमा एक पटकमा ७ जनाले स्नान गर्न सक्ने तथा ११ जनाले शौचालय प्रयोग गर्न सक्ने व्यवस्था छ ।

त्यस्तै, पहिलो तलामा पोखरा पुस्तकालय र दोस्रो तलमा आठ वटा ग्यालरी निर्माण गरिएको छ । भवनको माथिल्लो भागमा दुईवटा घन्टाघरसमेत निर्माण गरिएको छ । ५ करोड १२ लाख २६ हजार २ सय ४६ रुपियाँमा भवन निर्माण गरिएको महानगरले जनाएको छ । भवनमा पोखरा प्रज्ञा प्रतिष्ठानको कार्यालय, पोखरा सार्वजनिक पुस्तकालय, पोखरा कला प्रदर्शनी केन्द्र, सूचना केन्द्र छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय